नुवाकोट, साउन ३० । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित छहरे–टोखा सडकखण्डमा बसले पार्किङमा रहेको विद्युतीय माइक्रोबसलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बनेपाबाट दुप्चेश्वर धाम दर्शनका लागि जाँदै गरेको अरनिको यातायातको बस शिवपुरी–७ स्थित ठानाभञ्ज्याङमा खाजा खान सडकको ओरालोमा रोकिएको थियो। यात्रु चढ्ने क्रममा बस चिप्लिएर अगाडि ओतमा पार्किङ गरिएको ईभी माइक्रोबसलाई ठक्कर दिएको प्रारम्भिक विवरण छ।
ठक्करपछि बा १ ख ००५३ नम्बरको बस र ना.प्र. ०३–००१ ज १९ नम्बरको विद्युतीय माइक्रोबस सडकबाट करिब ५० मिटर तल खसेका थिए। दुर्घटनामा चार जना घाइते भएकोमा उपचारका क्रममा काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा दुई जनाको मृत्यु भएको हो। बाँकी दुई जनाको उपचार भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार ईभी चालक धादिङको नीलकण्ठ नगरपालिका–३ का सुमन राना मगर र बस चालक काभ्रेको पाँचखालका सीताराम आचार्य रहेका छन्। दुर्घटनामा मृत्यु भएका दुई जनाको परिचय भने खुल्न बाँकी छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको बताइएको छ।

प्रतिकृयाहरु