भक्तपुर, भाद्र २७ गते । 

इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।

जात्रामा मूपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोसाक, अनुहारमा विभिन्न रङ लगाई तथा तरबार समात्न दिएर भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा भक्तपुर नगरको टोलटोलमा ठड्याइराखेको यमःद्योलाई मूपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछन् ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दिप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई गणेश जात्रा गरिन्छ । त्यसपछि मूपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मूपात्रलाई यमःद्यो भएको ठाउँमामा परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मूपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो  द्योःछे (देवगृह)मा पुर्‍याइन्छ । 

जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरुपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोलहरू तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बाली सकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरूप मसान भैरवको खट जात्रा गरिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विशेष)बाजा बजाएर भैरवनाथको खट नगर परिक्रमा गराइन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मूपात्र जात्रा निकालिन्छ ।

इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्‍यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लगाई गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् ।

सो क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ ।

-गोरखापत्र