लमजुङ, माघ ९ गते । नेपालकै ठूलो मध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत मात्र उत्पादन भएको हो । गतवर्ष यस समय औसतमा ३५ देखि ३७ मेगावाटसम्म विद्युत उत्पादन हुने गरेकोमा यसबर्ष भने केही बढी हो । केन्द्रका इलेक्ट्रिक इन्जिनियर विपिन सिलवालका अनुसार केन्द्रबाट माघ ७ गते शुक्रबार औसत उत्पादन ३५ दशमलव २४ मेगावाट छ ।

कुल आठ सय ४५ दशमलव ७५ मेगावाट आवर विद्युत उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हिउँ पग्लिएको छैन । मर्स्याङदी नदीमा पानीको बहाव कम छ । पुसबाट विद्युत उत्पादन घट्न थालेको छ । अब हिउँ पग्लिन थालेपछि फागुनबाट बढ्दै जान्छ ।’

गत वर्षतिर पुस महिनाको समय ३५ देखि ३७ मेगावाट मात्रै विद्युत उत्पादन हुन्थ्यो । यसवर्ष केही बढी उत्पादन भएको छ । पुस महिनामा कुल ३३ हजार दुुई सय २६ दशमलव सात मेगावाट आवर विद्युत उत्पादन भएको देखिन्छ । यसवर्षको पुस महिनामा केन्द्र सञ्चालन देखिकै धेरै विद्युत उत्पादन भएको हो । उक्त महिना औसत उत्पादन ४६ मेगावाट सम्म थियो ।

केन्द्रका अनुसार साँझ र विहानको पीक आवरमा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । हिउँदमा बिहान ६ देखि १० बजे र साँझ ६ बजेदेखि १० बजेको बीचमा पूरा उत्पादन हुने गर्छ । पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत उत्पादन बढ्ने केन्द्रले जनाएको छ । उक्त परियोजनामा ३५÷३५ मेगावाटको दुुई वटा फ्रान्सिस टर्बाइन छ ।

जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा मध्यमर्स्याङदी जलविद्युत परियोजना निर्माण गरिएको हो । सुरुमा चार वर्ष लगाएर १३ अर्ब रुपियाँ बढी लगानीमा सम्पन्न गर्ने भनिए पनि परियोजनाको निर्माणकार्य आठ वर्षमा पूरा भएको थियो । ३० अर्ब रुपियाँ बढी खर्च गरेर निर्माण गरिएको मध्यमर्स्याङदी जलविद्युत परियोजना लगानीका हिसाबले नेपालको सवैभन्दा महँगो जलविद्युत परियोजना मानिन्छ ।