नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार माल्दिभ्सको राजधानी मालेमा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १–१ गोलको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलोपटक फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेको बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो ।

खेलको ८६औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।

बंगलादेशसँगको बराबरीसँगै नेपालको ४ खेलबाट ७ अंक भएको छ । बंगलादेश भने ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ ।