नापी कार्यालयका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरु गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपियाँ बिगो रकम कायम गरी कैद र जरिवाना गरी लुकाइ छिपाइ राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको आयोगले जनाएको छ ।
यसैगरी, प्रतिवादी सुडीसहित उनकी श्रीमती सुमिन्त्रा देवी साहविरुद्ध सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिकृयाहरु