कास्कीको पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीमा १२ करोड ५६ लाख रुपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले दिएको प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कृष्णबहादुर जैसी, सहकारीका व्यवस्थापक जगत पौडेल र सचिव विराज सुवेदी रहेका छन् । जैसी सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितसमेत हुनुहुन्छ । उहाँ धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता खडा गरी ८२ लाख रुपियाँ हिनामिनामा संलग्न रहेको सहकारी रजिस्ट्रारको प्रतिवेदनमा उल्लेख छ ।

जैसीसहितको जाहेरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका विरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ । गत निर्वाचन प्रचारका बेला कास्की क्षेत्र नम्बर–३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई जैसीले छोराको विद्यालयको शुल्क तिर्न नसकेको भन्दै बिल दिनुभएको थियो । सूर्यदर्शनमा पैसा डुबेका कारण शुल्क तिर्न नसकेको भन्दै उहाँले साङ्केतिक रूपमा न्याय माग गर्नुभएको थियो ।

प्रहरीले धनुष सहकारीका व्यवस्थापक पौडेल र सचिव सुवेदीलाई पनि सोमबार नै नियन्त्रणमा लिएको छ । सुवेदीले दुई करोड २५ लाख र पौडेलले एक करोड २५ लाख रुपियाँ अपचलन गरेको प्रतिवेदनमा औँल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ, सहकारी रजिस्ट्रारको प्रतिवेदन र प्रहरीको छानबिनपछि थप तथ्य खुल्ने छन् ।” रजिस्ट्रार कार्यालयको प्रतिवेदनले धनुषको अपचलनमा १३ जनाको संलग्नता देखाएको छ ।

सहकारी रजिस्ट्रार भेषराज रिजालले सञ्चालकहरूले हिसाबकिताब मिलान गर्न नसकेपछि आइतबार प्रारम्भिक छानबिन प्रतिवेदन प्रहरीलाई बुझाइएको बताउनुभयो । धनुषमा समस्या देखिएपछि १५ महिनाअघि भएको छानबिनमा १९ करोड १८ लाख रुपियाँ अनियमितता भएको पाइएकोमा केही रकमको हिसाब मिलान भई हाल १२ करोड ५६ लाख रुपियाँ बिगो कायम भएको हो ।

रिजालले भन्नुभयो, “लामो समय दिँदा पनि उहाँहरूले हिसाब मिलान गर्न सक्नुभएन । हामीले व्यक्तिपिच्छे बिगो किटान गरी पठाएका छौँ ।” गण्डकी प्रदेशमा सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीमा छानबिनका लागि पठाएको यो १९ औँ सहकारी हो । केही सहकारीमा बचत फिर्ता र मुद्दा मिलापत्रको क्रम पनि चलिरहेको रिजालले बताउनुभयो ।

यसैबिच, जैसी पक्राउ परेको विषयलाई रास्वपा सभापति लामिछानेको मुद्दासँग जोडिएको प्रति सूर्यदर्शन बचत तथा ऋण सहकारीले ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै सहकारीले लामिछानेविरुद्ध जाहेरी दिने जैसी मात्र नभएको स्पष्ट पारेको छ । सूर्यदर्शन ठगीमा जिबी राईसहित सात जनाविरुद्ध जैसीको नामबाट जाहेरी परेको थियो भने लामिछानेविरुद्धको पुरक जाहेरी गोविन्दप्रसाद अधिकारीले दिनुभएको थियो ।

सूर्यदर्शन सहकारीका अध्यक्ष किरण श्रेष्ठले जैसीको व्यक्तिगत विषयलाई संस्थाको मर्यादा र लामिछानेविरुद्धको मुद्दासँग जोडेर प्रचार नगर्न आग्रह गर्नुभएको छ ।