सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसहित तीन जना ८५ हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार सो आयोजनाका इन्जिनियर राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं.५ खावास्थित विद्यालयको भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन विभिन्न बहाना बनाइ दुख दिइ सेवाग्राहीसँग घुस माग गरेको भन्ने निवेदन तथा सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

उहाँकाअनुसार इन्जिनियर राई ललितपुरबाट, लेखा अधिकृत कार्की धनकुटा र सब-इन्जिनियर श्रेष्ठ भोजपुरबाट पक्राउ परेका हुन् । घुस रकम, मोबाइल तीन थान र अन्य कागजातसहित नियन्त्रणमा लिइ उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।