घोराहीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घोराहीको मुख्य सडकअन्तर्गत घोराही उपमहानगरपालिका–१५ बुद्ध अस्पताल नजिकै भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ४० वर्षीय टोपबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभएको छ ।
दुर्घटनामा गम्भीर घाइते वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका–४ निवासी २३ बर्षीय सुनिल खत्री र सोही ठाउँ निवासी २० बर्षीय रामबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भइरहेको छ ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घोराही बजारदेखि रामपुरतर्फ जाँदै गरेको रा ६ प ६०७५ नम्बरको मोटरसाइकल र भरतपुरदेखि निमाहलतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको र मोटरसाइकल चालक बंगलाचुली गाउँपालिका–४ निवासी मोहन डाँगी फरार रहेकाले मोटरसाइलको पहिचान हुन नसकेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगालागी भएको मोटरसाइकलमा घोराही उपमहानगरपालिकाको दमकलबाट पानी हालेर आगो निभाइएको थियो । तिव्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान रहेको छ । प्रहरीले फरार मोटरसाइकल चालक डाँगीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु