द्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनावश्यक रूपमा सञ्चय गर्ने कार्यमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
पछिल्लो समय विभिन्न माध्यमबाट ग्यास अभाव भएको समाचार तथा सूचना सार्वजनिक भएपछि मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बजारमा नियमित माग धान्न सक्ने गरी ग्यास आयात भइरहेको स्पष्ट पारेको हो।
मन्त्रालयका अनुसार अघिल्ला वर्षको यही अवधिको तुलनामा अहिले पर्याप्त परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको छ। बजारमा देखिएको केही असहजता आपूर्ति प्रणालीमा दीर्घकालीन समस्या भएर नभई मागमा आएको अचानक वृद्धिका कारण भएको मन्त्रालयको भनाइ छ।
भरिएका सिलिन्डर वितरण सुरु भएपछि माग बढ्यो
साउन महिनादेखि पुनः भरिएका सिलिन्डर वितरण सुरु भएपछि ग्यासको मागमा एकाएक वृद्धि भएको मन्त्रालयले जनाएको छ। माग बढ्दा केही स्थानमा वितरणमा असहजता देखिए पनि आपूर्ति व्यवस्थालाई सामान्य बनाउन आवश्यक पहल भइरहेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले पर्याप्त ग्यास उपलब्ध गराउन नेपाल आयल निगममार्फत आयात सुनिश्चित गर्ने तथा आवश्यक कूटनीतिक पहललाई निरन्तरतादिइरहेको जनाएको छ।
त्यसैगरी, बजारमा ग्यासको वास्तविक अवस्था बुझ्न तथा अनियमितता नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमनलाई तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।
अनावश्यक सञ्चय नगर्न आग्रह
मन्त्रालयले ग्यासको अभावसम्बन्धी अफवाह तथा भ्रमपूर्ण सूचनाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ।
बजारमा देखिएको वितरणसम्बन्धी असहजता केही दिनमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको भन्दै मन्त्रालयले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न उपभोक्तासँग अनुरोध गरेको छ।
मन्त्रालयले आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने, बढी मूल्यमा बिक्री गर्ने वा कालोबजारी गर्ने कार्य भएको पाइएमा सम्बन्धित व्यवसायी तथा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
सरकारले उपभोक्तालाई संयमित रहन आग्रह गर्दै आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउन सम्बन्धित निकायहरू सक्रिय रहेको जनाएको छ।

यस्तै वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्ताको पहिचान गरी प्राथमिकताका साथ ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल आयल निगम तथा सबै ग्यास विक्रेता एवं डिलरहरूलाई मन्त्रालयले आग्रह गरेको छ।
कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

प्रतिकृयाहरु