भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति पुगेका क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापित गर्न चीन सरकारले नेपाललाई बेलीब्रिजसहित आपत्कालीन सहायता सामग्री हस्तान्तरण गरेको छ। चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) प्रशासनका तर्फबाट उपलब्ध गराइएका यी सामग्री सिगात्सेस्थित रिजी बन्दरगाहमा औपचारिक रूपमा नेपाली पक्षलाई बुझाइएको हो।

‘साझा हिमाल, साझा नदी, सुख–दुःखमा ऐक्यबद्धताः नेपालको सहयोगार्थ सिजाङको तत्परता’ भन्ने उदात्त सन्देशका साथ चीनले उक्त सहयोग उपलब्ध गराएको नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ।

हस्तान्तरण गरिएका प्रमुख सामग्रीहरू

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तत्काल दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने गरी आवश्यक विशेष उपकरणहरू चीनले उपलब्ध गराएको छ:

  • बेली प्यानल र सपोर्ट फ्रेम: पुलको मुख्य ढाँचा तयार पार्न प्रयोग हुने बलिया प्यानलहरू।

  • सुदृढ सस्पेन्सन रड र आई–बीम: पुललाई थप मजबुत र सुरक्षित बनाउने आधारभूत भागहरू।

  • ब्रिज डेकिङ: सवारी साधन र पैदल यात्री आवतजावतका लागि आवश्यक सतह (फ्लोरिङ)।

यातातयात पुनर्स्थापनामा कोसेढुङ्गा

बाढी-पहिरोले सडक सञ्जाल विच्छेद भएका प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न यी बेलीब्रिजहरू अत्यन्तै प्रभावकारी हुनेछन्। ल्हासास्थित विदेश मामिला कार्यालयले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई यी सामग्री बुझाएको हो।

सामग्री ग्रहण गर्दै नेपाली महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाले विपद्को कठिन घडीमा चीन सरकार र चिनियाँ जनताले देखाएको द्रुत तत्परताका लागि हार्दिक आभार व्यक्त गर्नुभयो। समयमै प्राप्त यस सहयोगले नेपाल र चीन तथा सीमावर्ती क्षेत्रका जनताबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध र आपसी सद्भावलाई अझ प्रगाढ बनाएको उहाँले उल्लेख गर्नुभयो।