बुढानीलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखा र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (NTCC) को संयुक्त आयोजनामा नगर क्षेत्रमा निःशुल्क छाती रोग तथा क्षयरोग पूर्व परीक्षण शिविर सञ्चालन गरिएको छ। आधुनिक एआई (कृत्रिम बौद्धिकता) प्रविधिमा आधारित एक्स–रे प्रणाली प्रयोग गरेर सञ्चालन गरिएको शिविरबाट नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्ने भएका छन्।

नगरपालिकाका अनुसार शिविर वडा नं. ३ स्थित स्वास्थ्य चौकीबाट सुरु गरिएको हो। शिविरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा उपलब्ध हुनेछ। क्षयरोगको प्रारम्भिक पहिचान तथा समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जनाइएको छ।

स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार शिविरमा प्रयोग गरिएको एआई आधारित एक्स–रे (ACF Camp) प्रणालीले छातीको परीक्षणलाई छिटो, प्रभावकारी र सहज बनाउनेछ। यस प्रविधिबाट क्षयरोगका सम्भावित बिरामी पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले विशेषगरी लामो समयदेखि खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, तौल घट्ने, ज्वरो आउने तथा छातीसम्बन्धी अन्य समस्या भएका व्यक्तिलाई परीक्षणमा सहभागी हुन आग्रह गरेको छ।

शिविर २०८३/०२/११ गतेदेखि सुरु भई क्रमशः नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिने जनाइएको छ। स्थानीय तहसम्म आधुनिक स्वास्थ्य सेवा विस्तार गर्दै समुदायस्तरमै रोग पहिचान र नियन्त्रण गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार क्षयरोग समयमै पहिचान गरी उपचार गरे पूर्ण रूपमा निको हुन सक्ने रोग भएकाले परीक्षणप्रति नागरिक सचेत हुन आवश्यक छ। नगरपालिकाले सर्वसाधारणलाई अवसरको सदुपयोग गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सेवामा सहभागी हुन अनुरोध गरेको छ।