क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।

यसअघि मङ्गलबार सन्दीपको बयान लिइएको थियो । बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिनुभएको थियो । साथै सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गर्नुभएको थियो ।

आज सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर थुनछेक बहस भएको हो ।

अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेन : सन्दीपका वकील
सन्दीप पक्षका वकील मुरारी सापकोटाले थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको बताउनुभयो । उहाँले जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको जानकारी दिनुभयो । 

उहाँले आफूहरुले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताउनुभयो । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ''आज विशेष गरी प्रतिवादीको तर्फबाट काठमाडौं जिल्ला अदालत समक्ष हामीले दुई वटा विषयवस्तु जोडदार रुपमा उठायौँ । पहिलो कुरा जुन जबरजस्ती करणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने, किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।''

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी  भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।