विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ।

अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कायम राखेको छ। अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्। यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्।

अदालतको निर्णयपछि जोकोभिचले आफू "एकदमै निराश" भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्। "यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु," उनले एक वक्तव्यमा भनेका छन्।

किन भिसा रद्द?

शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन्।

ज्यानुअरी ६ मा पहिलो पटक भिसा रद्द हुँदा जोकोभिचले गत सोमवार अदालतमा मुद्दा जितेका थिए। शनिवार जोकोभिचलाई पुनः हिरासतमा लिइएको थियो। अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता सोमवार सुरु हुँदै छ र जोकोचिचले पहिलो चरणमा सोमवार राति सर्बियाकै खेलाडीविरुद्ध खेल्ने तालिका थियो।