काठमाडौं, माघ ४ गते । नेपाल आयल निगमले निगमसँग सञ्चित बचत शून्य रहेको जनाएको छ । निगमले भारतीय आयल कर्पोरेसनलाई जनवरी २३ मा गर्नुपर्ने भुक्तानीका लागि दुई अर्ब अपुग हुने जनाएको छ ।

यसको व्यवस्थापनको लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको पनि निगमले जनाएको छ ।

‘आउँदा दिनहरुमा केही मूल्य समायोजन गरिए पनि महिनाको करिब ४ अर्ब रुपियाँभन्दा बढी नै मासिक घाटा रही रहने देखिएको हुँदा आगामी तीन महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगलाई न्यूनतम करिब १२ अर्ब रुपियाँ आवश्यक पर्ने देखिएको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनवरी १६ मा प्राप्त नयाँ मूल्य अनुसार मूल्य समायोजन नगरे आगामी १५ दिनमा थप दुई अर्ब २४ करोड घाटा भएर यस आर्थिक वर्षको माघ १७ गतेसम्म २१ अर्ब ५० करोड रुपियाँ घाटा व्यहोर्नु पर्ने अवस्था देखिएको निगमले जनाएको छ ।

माघ २ गते भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा, मट्टितेलमा २० रुपैयाँ ५० पैसा, हवाई इन्धनमा १४ रुपैयाँ ७३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दावी छ ।

निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा ३ पटक मात्रै मूल्य समायोजन गरिएको छ ।