कालीकोट, वैशाख २० गते । कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकामा र्याफ्टिङ सञ्चालन भएको छ । पर्यटन प्रवर्द्धनका लागि यी दुई गाउँपालिकाले कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेपछि र्याफ्टिङ सुरु गरिएको हो । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलोमिटरमा -याफ्टिङ सञ्चालन गरिएको छ । एक कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादर शाही, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्मर शाहीलगायतको टोलीले चार किलोमिटर -याफ्टिङ गरेको छ । 

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले नेपालकै अग्लो झरना पचालझरना हेर्न आउने पर्यटकलाई थप सुविधा र मनोरञ्जन दिन -याफ्टिङ सञ्चालन भएको बताउनुभयो । -याफ्टिङले आन्तरिक आय वृद्धि हुनुका साथै स्थानीय रोजगारीसमेत सिर्जना हुने उहाँको भनाइ छ । दशैँ, तिहारलगायत नयाँ वर्षमा बिदाको समयमा पचालझरना घुम्न आउनेका लागि थप मनोरञ्जन दिन -याफ्टिङ सञ्चालन गर्न उपयुक्त ठानेर यसको सुरु गरिएको जानकारी उहाँले दिनुभयो । 

रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले -याफ्टिङ सफल भएको चर्चा गर्दै शुल्क न्यूनतम राखिने बताउनुभयो । उहाँले अब कर्णाली नदीमा -याफ्टिङ निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । पचालझरना आउने पर्यटकले रास्कोटको देउरापाट धार्मिक पर्यटकीय स्थलको पनि भ्रमण गर्ने उहाँले बताउनुभयो । 

-गोरखापत्र