साराले अभिनय गरेको फिल्म ‘गुञ्जन’ पुस २९ गतेदेखि प्रदर्शन हुने तयारीमा छ। सारा यो फिल्मको शीर्ष भूमिकामा छिन्। नेपालमा फिल्मको प्रमोसन चलिरहेको छ, सारा दुबईमा छिन्। नायिकाबिनाको प्रमोसन फिका देखिएको छ। 

अभिनेत्री सारा सिर्पालीले एक समय नेपाली फिल्म उद्योगमा स्थापित हुने संघर्ष गरिन्। केही फिल्ममा अभिनय गरिन्। तर यो उद्योगमा उनको खासै कमाल चलेन। अहिले सारा दुबईमा छिन्। उनले उतै रोजगारी थालेको उनी निकट साथीहरुले बताउन थालेका छन्। यता नेपालमा भने सारा अभिनित पछिल्लो फिल्म प्रदर्शनको तयारीमा छ।

निर्माता नायिकाको पर्खाइमा छन्। नेपाली फिल्म उद्योगमा भविष्य नदेखेर हिँडेकी सारा फिल्म प्रमोसनमा आउने सम्भावना कम छ। साराले ३ फिल्ममा अभिनय गरिन्। फिल्म प्रचारका क्रममा उनको निकै चर्चा पनि भयो। तर उनका कुनै पनि फिल्म उद्योगमा सफल हुन सकेनन्। फिल्मी करिअर बनाउन नसकेपछि उनले जीवनलाई नयाँ बाटोमा डोराएकी हुन्।