नयाँदिल्ली, असोज २४ गते । 

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । गुरुग्राम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई गत आइतबार एक्कासि स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उहाँलाई उपचार गरिएको थियो ।

उहाँकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिनुभएको हो । समाजवादी पार्टीको स्थापना स्वर्गीय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गर्नुभएको थियो ।

झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नुभएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उहाँ सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनुपरेको थियो । उहाँलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो ।

उहाँले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णय लिनुभएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्नुहुन्थ्यो ।भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उहाँ तीन पटक मुख्यमन्त्री बन्नुभयो भने एक पटक केन्द्रीय मन्त्री हुनुभएको थियो ।

आम निर्वाचनबाट उहाँ १० पटक निर्वाचित हुनुभएको थियो । तीमध्ये सात पटक लोकसभा सदस्य बन्नुभएको थियो । उहाँ पहिलो पटक सन् १९६७ मा २८ वर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो ।

-गोरखापत्र