हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले तामाङले आफूले जन्म दिएको शिशुलाई जिउँदै घाँटी थिचेर र मुख थुनेर हत्या गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार तामाङले शिशुलाई जन्मनासाथ हत्या गरेर घर नजिक ५० मिटरको दूरीमा रहेको खरबारीमा दुई फिट खाल्डो खनेर गाडेकी थिइन् ।

घटनाको आधा घण्टापछि राति ११ बजेका समयमा स्थानीय मानबहादुर तामाङले घटनाको बारे प्रहरीलाई जानकारी दिएका थिए । सोही जानकारीका आधारमा इलाका प्रहरी कार्यालय हेलम्बुले रबिनालाई शिशु हत्या आरोपमा पक्राउ गरेको थियो । शिशुको शव पोस्टमार्टमका लागि मेलम्ची अस्पतालमा लगिएको छ । हत्या आरोपी तामाङको श्रीमान् ३ वर्षदेखि विदेशमा रहेको इप्रका हेलम्बुले जनाएको छ । अवैध गर्भबाट शिशु जन्मेकाले त्यसबाट बच्न शिशुको हत्या गरिएको उक्त प्रहरी कार्यालयको आशङ्का छ ।