अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अदालतले पुटिनलाई गैरकानुनी रूपमा युक्रेनबाट बालबालिकालाई रुसमा पुर्‍याउनुका साथै युद्ध अपराधका लागि जिम्मेवार रहेको ठहर गरेको छ ।आईसीसीका न्यायाधीशहरूले पुटिनसहित रुसी बाल अधिकार आयुक्त मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति पुटिनको सो अपराध २४ फेब्रुअरी सन् २०२२ देखि युक्रेनमा शुरु भएको जनाएको छ ।आइसिसिले रुसले युक्रेन माथि युद्ध शुरु गरेको दिनदेखि नै अपराधको श्रृंखला शुरु भएको जनाएको छ । मस्कोले भने आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो ।