चार पटकको विश्वकप विजेता जर्मनीलाई कतारमा जारी विश्वकप फुटबलमा एसियाली देश जापानको नमिठो धक्का लागेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार साँझ भएको समूह ‘ई’ को खेलमा जापानले जर्मनीलाई २–१ गोलले हरायो । 

जापानको जितमा रित्सु डोन र ताकुमा असनोले गोल गर्नुभयो । जर्मनीका लागि इल्के गुन्डोगानले पहिलो हाफमा गरेको गोल सान्त्वना बन्यो । पहिलो हाफमा लय गुमाएको जापानले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गरेको हो । 

खेलमा सुरुवाती अग्रता जर्मनीले लिएको थियो । ३३औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाउनुभयो । डिबक्सभित्र जर्मनीका डेभिड रमलाई जापानका गोलरक्षक  सुइची गोन्डाले फल हानेर लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । 

जसलाई गुन्डोगानले सही सदुपयोग गर्नुभएको थियो । पहिलो हाफमा बल पोसेसनमा अब्बल देखिएको जर्मनीले इन्जुरी समयमा पाएको अर्को गोललाई भिएआरको सहायतामा अफसाइड दिईएको थियो । 

यता दोस्रो हाफमा आक्रामक देखिएको जापानले ७५औं मिनेटमा बराबरी गोल फर्कायो । रित्सुले गोल गर्दै जापानलाई खेलमा फर्काउनुभयो । त्यसपछि ८३औं मिनेटमा ताकुमा असनोले को इताकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई जिताउनुभयो ।

 

जर्मनीले दोस्रो हाफमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार खेप्यो । दोस्रो हाफमा जर्मनीको प्रयासमा जापानका गोलरक्षक बाधक बन्नुभएको थियो । जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ को विश्वकप विजेता टोली हो ।

 

जितसँगै जापानले तीन अंक बनाएको छ । उपाधि दावेदार जर्मनीले हारबाट कतार विश्वकपको सुरुवात गरेको छ । आजै राति यस समूहको अर्को खेलमा स्पेन र कोस्टारिबीच प्रतिस्पर्धा हुँदैछ । कतार विश्वकपमा यस समूहलाई ‘ग्रुपअफ डेथ’ मानिएको छ । एजेन्सी