काठमाडौं, भाद्र १४ गते । 

घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ ।  केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो । 

जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रनमा समेटिएको थियो । केन्याका लागि नेहेमिह ओधिएम्बोले सर्वाधिक ३७ रन बनाउनुभयो ।  

कप्तान सेन एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलिन्स ओवुयाले २३ र नेल्सोन ओधिएम्बोले अविजित १३ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई दुई विकेट लिनुभयो । करण केसी, आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो । 

यसअघि ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ सहयोगमा नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।सम्हालिएको ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रन बनाउनुभयो । उहाँले ४४ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । मल्ल प्लेयर अफ दि म्याच बन्नुभयो । रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो ।

बलिङमा केन्याका नेहेम्याह ओडिम्बो, सेम नेगोचे र भिराज पटेलले दुई दुई विकेट लिनुभयो । लुकास ओलुचले एक विकेट लिनुभएको थियो । पाँच खेलको टी–२० सिरिजमा नेपालले पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो ।

कमजोर ब्याटिङका कारण नेपाल दोस्रो खेलमा १८ र चौथो खेलमा सात रनले पराजित भएको थियो । नेपालले अब केन्यासँग भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज खेल्नेछ । 

-गोरखापत्र