सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामाुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष महतारासहित, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढाको आपसी मिलेमतोमा नेपाल सरकार एवम् सार्वजनिक संस्था नेपाल साजगोठेरी सामुदायिक वन उपभोक्ता समूह, भेरीगंगा नगरपालिका १३ सुर्खेतको सहमति लिई कटान गरी आर्थिक वर्ष २०७८/७९ मा चिरान गरेको एक हजार क्यू, फिट काठमा ९८१.२४ क्यू, फिट काठ न्यूनतम दररेटमा बिक्री गर्दा हुने आम्दानी रकमभन्दा ९५ हजार ११८ रुपियाँ कम आम्दानी भएको देखाइ लेखापरीक्षण प्रतिवेदन बनाइ रकम हिनामिना गरेको देखिएको छ ।

सो लेखापरीक्षण प्रतिवेदनमा काठ चिरानी खर्च चार लाख ४० हजार रुपियाँ खर्च भएको देखाइ वास्तविक दररेटभन्दा तीन लाख ६६ हजार ९१६ खर्च देखाएको, सामुदायिक वनको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा वनहेरालुु गरेबापत जम्मा दुई लाख २० हजार खर्च भएको भनी अस्वभाविक बढी खर्च भुक्तानी देखाएकोमा वनहेरालुले वास्तविक पाएको नगद एक लाख ३० हजार रुपियाँ भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार झुट्टा भरपाई बनाएको तथा प्रतिवादी महताराले एक लाख २० हजार रकम बुझी उक्त रकम के कुन शीर्षकमा खर्च गरेको हो ? सो उल्लेख समेत गर्न नसकेको र लेखापरीक्षण प्रतिवेदनमा घरभाडा बापत ५२ हजार रुपियाँ खर्च भएको देखाइएको तर घरधनीले हालसम्म आठ हजार रुपियाँ मात्र रकम बुझेको पाइएकोले उनीहरुविरुद्ध सात लाख १५ हजार ९१६ रुपियाँ बिगोे रकम कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।