गोरखाको सिरानचोक गाउँपालिका –२ सिउरेनीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आज बिहान करिब ११ः३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भइ झन्डै ४० मिटर मुनि खसेको थियो ।
दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा चालक सिरानचोक गाउँपालिका –५ भाँगेका ४० वर्षीय चालक वीरबहादुर गुरुङ, सिरानचोक –२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार, सोही स्थानकी ५० वर्षीया गीतामाया परियार, २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार घाइते भएका हुन ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइतेहरुको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु