बिहान सबेरै र राति अबेर सडकमा हिँड्ने महिला तथा वृद्धालाई लक्षित गर्दै बाटो सोध्ने बहानामा सुनको सिक्री लुटपाट गर्ने समूहको संलग्नता खुलेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका लुटपाटका घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ३४ वर्षीय कर्मा तामाङलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङ समूहले काठमाडौं उपत्यकामा लुटपाट गरी जिल्ला बाहिर गएर सुरक्षित हुने शैली अपनाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बाटो सोध्ने बहानामा सिक्री लुटपाट

गत असार १३ गते बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गरेकी एक महिलालाई मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले ‘पेप्सीकोला जाने बाटो कता हो?’ भन्दै बाटो सोधेका थिए।

महिलाले बाटो देखाएपछि उनीहरू केही अगाडि गएर पुनः फर्किएका थिए। त्यसपछि मोटरसाइकलको पछाडि बसेका व्यक्तिले महिलालाई लडाएर घाँटीमा लगाएको करिब दुई दशमलव पाँच तोलाको सुनको सिक्री लुटेर फरार भएको प्रहरीको भनाइ छ।

यस्तै प्रकृतिका घटना असार १५ गते काठमाडौंको नरेफाँट तथा काभ्रेपलाञ्चोकको धुलिखेलमा र साउन ७ गते काठमाडौं महानगरपालिका–६ धापासी हाइटमा पनि भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी फुटेज तथा विगतका आपराधिक गतिविधिको प्रोफाइलिङलाई आधार बनाएको थियो।

सिसिटिभीबाट खुलेको कडी

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार घटनाको सूक्ष्म अनुसन्धानपछि ती लुटपाटमा कर्मा तामाङ समूहको संलग्नता रहेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको थियो।

समूहका केही सदस्य पक्राउ परेपछि प्रहरीले कर्माको सम्भावित बसोबास तथा आवतजावतका स्थान पहिचान गरी उनको खोजी थालेको थियो।

प्रहरीका अनुसार काठमाडौं–सिन्धुपाल्चोक ओहोरदोहोर गर्ने समूहले काठमाडौंमा लुटपाट गर्ने र त्यसपछि जिल्लातर्फ फर्किएर सुरक्षित हुने रणनीति अपनाएको देखिएको छ।

बूढानीलकण्ठमा प्रहरीसँग जम्काभेट

लुटपाट गर्ने योजनासहित पुनः काठमाडौं आएका कर्मा तामाङ प्रहरीको निगरानीमा परेका थिए। बूढानीलकण्ठ क्षेत्रमा बसेर लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार राति करिब १०ः२५ बजे बूढानीलकण्ठ–१३, चुनिखेलमा प्रहरीसँग उनको जम्काभेट भएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरिएको थियो। तर तामाङले प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले घुँडामुनि गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

घाइते तामाङलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

चार जना यसअघि नै पक्राउ

प्रहरीले कर्मा समूहका सदस्यहरू काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रतिमान गोले, ३० वर्षीय पासाङ घिसिङ, ३६ वर्षीय मनोज तामाङ तथा कास्कीका २९ वर्षीय आले गुरुङलाई साउन १५ गते बनेपाबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार समूहले लुटपाटका लागि मोटरसाइकल चोरी गर्ने, त्यसमा नम्बर प्लेट परिवर्तन गर्ने र घटनापछि चोरीका मोटरसाइकल उपत्यकाबाहिर लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

कर्माको साथबाट एक थान मोटरसाइकल, एक थान खुकुरी, मोटरसाइकलका विभिन्न पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरी गर्न प्रयोग हुने औजार बरामद भएको प्रहरीले जनाएको छ।

‘पटके अपराधी’को पृष्ठभूमि

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये केही यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परिसकेका छन्।

सवारी चालकका रूपमा काम गर्ने कर्मा यसअघि पनि चोरी तथा डाँकासम्बन्धी घटनामा पक्राउ परेको र उनीविरुद्ध विभिन्न समयमा नौ वटा चोरी तथा डाँका मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ।

त्यस्तै, प्रतिमान गोले यसअघि नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका अवस्थामा फरार भएको र पुनः पक्राउ परी कारागार पठाइएको प्रहरीको भनाइ छ। उनीविरुद्ध महाराजगञ्ज र चापागाउँ क्षेत्रमा डाँका तथा चोरीसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

पासाङ घिसिङले समूहका लागि मोटरसाइकल चोरी गरी उपलब्ध गराउने गरेको र काठमाडौंमा २० भन्दा बढी मोटरसाइकल चोरीमा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ।

त्यसैगरी, सुन पसल सञ्चालन गर्दै आएका मनोज तामाङले चोरी गरी ल्याइएका सुनका गरगहना गालेर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आले गुरुङले समूहलाई सहयोग गर्ने ‘ब्याक फोर्स’का रूपमा काम गरेको प्रहरीको भनाइ छ।

प्रहरीको निगरानीपछि समूहको गतिविधि नियन्त्रणतर्फ

प्रहरीका अनुसार घटनाहरूको आपराधिक शैली, प्रयोग भएका मोटरसाइकल, सिसिटिभीबाट प्राप्त संकेत तथा पक्राउ परेका व्यक्तिहरूको विगतको आपराधिक विवरणलाई जोडेर अनुसन्धान अघि बढाइएको हो।

बिहान सबेरै तथा राति अबेर एक्लै हिँड्ने महिला र वृद्धालाई लक्षित गरी बाटो सोध्ने बहानामा लुटपाट गर्ने शैली अपनाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता तथा विगतमा भएका थप चोरी तथा लुटपाटका घटनासँग उनीहरूको सम्बन्धबारे समेत अनुसन्धान भइरहेको छ।