लामो समय देखि बूढानीलकण्ठमा स्थापित बागद्वार साहित्य समाज निरन्तर रुपमा आफ्ना कार्यहरुलाई विस्तार गरिरहेको छ । यसै क्रममा कहिले विद्यालय स्तरिय कविता प्रतियोगिता त कहिले स्थानीय कविहरुको सम्मान र स्थानियरुपमा काव्यगोष्ठी गर्दै स्थानीयरुपमा लुकेर बसेका प्रतिभाहरुलाई साहित्य तर्फ आकर्षित गर्न कहिल्यै पछि परेको छैन । यसै सिलसिलामा बागद्वार सहित्य समाजले बूढानीलकण्ठ नगरपालिका वार्ड नं. ३ सँग समन्वय तथा सहकार्य गर्दै यहि २०७६ जेष्ठ २४ र २५ गते राष्ट्रिय काव्यगोष्ठी सम्पन्न गरेको छ ।

जेष्ठ २४ गते काठमाडौँको बूढानीलकण्ठमा अवस्थित डाँडागाउँसम्म कविता सुनाउँदै हाइकिङ्ग गर्दै मनोरञ्जनमा लिप्त भए राष्ट्रका विविध क्षेत्रबाट आएका कविहरु । पूर्वको न्यानो घाम बोकेर आए कवि जसराज किराँती, मनु मञ्जिल, हेमन यात्री र सविता गौतम दाहाल । मकवानपूरको न्यानो माया संगाल्दै आए कवि निमेष निखिल र सिङ्गो चितवनको तारा बनेर चम्किए कवि भूपिन । पोखराको फेवालाई आफ्नो हृदयमा बोकेर आएका कवि तिर्थ गुरुङलाई राजधानीका मोमिला जोशी, विप्लव प्रतिक, रमेश क्षितिज, विप्लव ढकाल र भूपाल राईले स्वागत गरे । २४ गते साँझ डाँडागाउँ स्थित पेन्देल महिला समुहद्वारा सञ्चालन गरिएको होमस्टेमा तामाङ संस्कार अनुसार स्वागत गरियो यी सबै कविलाई । स्थानिय स्वाद जिब्रोबाट विलाउन नपाउँदै बिहन भयो उनिहरुको र २५ गते विहानै उक्लिए सम्पूर्ण कविहरु विष्णुद्वारतर्फ । विष्णुमतिको शिर विष्णुद्वार तर्फ ऐतिहासिक तथा सांस्कृतिक महत्वहरुको चिरफार गर्दै डोहो¥याए स्थानिय कवि बिना थिङ र कवि श्याम संकल्पले ।

यो ३ घण्टा लामो हाइकिङ्ग पश्चात कविहरुलाई कार्यक्रम स्थलमा स्वागत गरि कार्यक्रम संचालन गरियो । कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा संचालन भएको यस बृहत बागद्वार राष्ट्रिय काव्यगोष्ठी कवि अनिता तामाङले गरेकी थिइन् भने कवि बिना थिङले सारांशमा बागद्वार साहित्य समाजको इतिहास खोतल्दै स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् । कवि राजेन्द्र पराजुली, सुलोचना मानन्धर, भूपाल राई, विप्लव ढकाल, मोमिला, जसराज किराती, मनु मञ्जिल, बिन्दु शमा, राजन मुकारुङ, गीता त्रिपाठी, हेमन यात्री, बिमला तुम्खेवा, रमेश क्षितिज, तीर्थ गुरुङ, भूपिन, स्वप्निल स्मृति, आरके अदिप्त, लगायत अन्य धेरै कविहरुले विविध विषयमा कविता सुनाउँदै यस कार्यक्रमलाई सुन्दर र रोमान्चकारी बनाएका थिए ।

यस कार्यक्रममा कविता सुन्ने सुनाउने अलावा दुइ स्थानिय व्यक्तित्व शिरिष  भण्डारी र कवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरियो । साथै यसै कार्यक्रम माफर्त कवि तथा समालोचक श्री महेश पौडेलले “समकालीन नेपाली कविता ः प्रवृत्ति र परिलक्षण” विषमा कार्यपत्र पनि प्रस्तुत गरे । कार्यक्रमको अर्को आकर्षण थियो बागद्वार साहित्य समाजका अध्यक्ष तथा साहित्यकार श्री श्याम संकल्पको मुक्तक संग्रह “फाटेको मन”को लोकार्पण र त्यसमाथि स्रष्टा रामबहादुर पहाडीले गरेको टिप्पणी । जेष्ठ २४ देखि सुरुभएको यस कार्यक्रमले हाइकिङ देखि सुरु गरेर दोस्र दिन भव्य साहित्यिक गोष्ठी गरेर समापन गरियो । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ सँगको सहकार्यमा गरिएको यस कार्यक्रमले देश भरका स्रष्टाहरुलाई आफ्नो थलोमा निम्त्यएर स्वागत गर्न पाउनु गर्वको कुरा रहेको बताउँदै वडाध्यक्ष बालकृष्ण श्रेष्ठले खुसी व्यक्त गरे भने यस कार्यक्रमले बूढानीलकण्ठको पर्यटन प्रवर्धनमा पनि उल्लेखनिय योगदान दिएको अनुभुति उनको रहेको छ । तसर्थ यस्ता कार्यक्रममा सहयोग गर्न कदापी नहिचकिचाउने उनको व्यक्तिगत धारणा पनि रहेको छ ।