कविता :नयाँ वर्षको शुभकामना 

हरेक पटक नयाँ साल फेरिएर आयो
आशाकिरण मनभित्र  छरिएर आयो
अब त कायापलट होला कि भन्दाभन्दै 
नराम्ररी झुक्काइदियो  औँला  गन्दागन्दै 

धनीका महलहरु झन्  आकाशिँदै गए
गरिबका झुपडीहरु झन् भासिँदै गए
बोल्नेका पीठो सधैँ बिकि नै रह्यो 
नातावाद र कृपावाद टिकि नै रह्यो ।

रोग ,भोक र शोकले  उसरी नै खाइरहे
ठाउँमा मान्छे हुनेहरू सधैँ अघि आइरहे
अवसरको अभावमा युवा विदेश पस्नुपर्‍यो 
परदेशको लागि तिनले  सुन फलाई बस्नुपर्‍यो ।

सबैतिर एकैनासले विकास कहाँ भयो र
फेरिएको युगको कहिले  के नै अर्थ  रह्यो र 
एउटालाई दुख्दाखेरि अर्कोले हेरिरह्यो
सङ्कटको चक्रव्युहले नराम्ररी घेरिरह्यो 

एकआपसमा खुट्टा तान्ने चलिरह्यो खेल
आफू उठ्न अर्कोमाथि भइरह्यो झेल 
इमानदारले कहीँकतै पाएन नि ठाउँ 
धूर्त र जिउन जान्नेको ठूलो बन्यो नाउँ 

अब चाहिँ नयाँ वर्ष बनिरहोस् खास
गरिबका पनि सबै पूरा होऊन् आश 
हिमालजस्तै सौम्य बनोस् सबैको भावना 
सबैलाई नयाँ वर्षको एक भूगोल शुभकामना ।
बूढानीलकण्ठ ,काठमाडौँ