काठमाडौँ, फाल्गुन ९ गते । नेपाल ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदान–१ मा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ विकेटले हरायो ।

समूह ‘बी’ को विजेता बनेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहबाट ओमानले पनि उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । ओमानले ‘ए’ को विजेता आयरल्यान्डसँग खेल्नेछ । समूह ‘बी’ बाट फिलिपिन्स र क्यानडा बाहिरिएका छन् ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो ।

क्यानडाले दिएको ८१ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अविजित ३४ रन बनाउनुभयो । उहाँले ३७ बलमा बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको थियो । दीपेन्द्रसिंह ऐरीले अविजित २७ रन बनाउनुभयो । उहाँले ३१ बलमा तीन चौकाको सहयोगमा उक्त जोड्नु भएको हो । अर्का ओपनर आशिफ शेख १७ रनमा आउट हुनुभएको थियो । १६ बलको सामना गर्नुभएका आशिफले एक चौका र एक छक्का हान्नुभयो । बलिङमा क्यानडाका सलमान नाजर र कलीम सानाले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सवै विकेटको क्षतिमा ८० रन बनायो । नेपालको धारिलो बलिङको सिकार बनेको क्यानडा ब्याटिङमा जम्न सकेको थिएन । क्यानडाका लागि डिलोन हेलिगरले सर्वाधिक २४ रन बनाउनुभयो । कप्तान नवनित ढालिवालले १८, ओपनर रायन पठानले १४ र सलमान नाजरले १० रन बनाउनुभयो । क्यानडाका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

क्यानडालाई सस्तैमा रोक्न बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । कमल ऐरी र अभिनास बोहोराले दुई दुई तथा कुशल मल्लले एक एक विकेट झार्नुभयो ।क्यानडाविरुद्ध नेपालले टोलीका एक जना खेलाडी परिवर्तन गरेको थियो । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा रहँदा गुलशन झाले आराम पाउनुभएको थियो ।

क्यानडाविरुद्ध नेपालको प्लेइङ–११

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

-गोरखापत्र