काठमाडौं, जेठ १ गते । देशभर अधिकांश स्थानीय तहमा सम्पन निर्वाचनको मतगणना कार्य अहिले जारी छ। शुक्रबार रातिदेखि सुरु भएका केही स्थानीय तहको नतिजा आइसकेको छ। धेरै स्थानीय तहमा मतगणना जारी छ। 

देशको राजधानी काठमाडौं महानगरपालिकाको मतगणना भने ढिला सुरु भएको काठमाडौं जिल्लाका निर्वाचन अधिकृत ठाकुर शर्माले जानकारी दिनुभयो। देशको संघीय राजधानीसमेत रहेको काठमाडौंको मतपरिणामको प्रतीक्षा धेरैको छ। 

शर्माका अनुसार मतपत्र ठूलो र गणना गर्दा झन्झटिलो भएका कारण मतगणनामा समय लाग्ने देखिएको हो। ‘मतपत्र ठूलो र गणना गर्दा झन्झटिलो रहेको छ। एउटै लहरमा भएका छाप गन्न पाए अलि छिटो हुनसक्थ्यो,’ उहाँले भन्नुभयो, ‘तल–माथि छाप रहेका कारणले गणना गर्दा धेरै समय लाग्ने देखिन्छ।’

शर्माका अनुसार एउटा मतपत्र गणना गर्नको लागि कम्तीमा पाँचदेखि सात मिनेटसम्म लाग्ने देखिएको छ। मत गनिसकेपछि सबै दलका प्रतिनिधि र पर्यवेक्षक सबैलाई प्रस्टसँग देखाउनुपर्ने भएकाले गणना कार्य ढिलाे भएको हो। 

प्रारम्भिक मतगणनालाई हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अगाडि देखिनुभएको छ भने ललितपुर महानगरपालिकामा काँग्रेसका चिरिबाबु महर्जन अगाडि हुनुहुन्छ। भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी रेणु दाहाल अगाडि हुनुहुन्छ। 

पोखरा महानगरपालिकामा गठबन्धनकै उम्मेदवार धनराज आचार्य अगाडि रहनुभएको छ भने वीरगन्ज महानगरमा गठबन्धनका राजेशमान सिंहको अग्रता देखिन्छ। त्यसैगरी विराटनगरमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका काँग्रेसका नागेश कोइराला अगाडि हुनुहुन्छ। 

नतिजाको प्रतीक्षामा मतदाता 

मत दिइसकेकपछि आफ्नो उम्मेदवार विजयी होस् भन्ने चाहना सबैको हुन्छ। महानगरमा पनि मतदाताले परिणामको व्यग्र प्रतिक्षा गरिरहेका छन्। काठमाडौंमा कुन उम्मेदवार विजयी हुन्छ भन्ने चासो आम मतदातामा देखिन्छ। मतदाताले छिनछिनको परिणाम जान्नको लागि महानगरको मतगणना भइरहेको राष्ट्रिय सभागृह बाहिर बसेर प्रतीक्षारत छन्। सामाजिक सञ्जालमा चासो राख्ने जमात पनि उत्तिकै छ।

 नतिजा आउन एक साता 

यसअघि निर्वाचन आयोगले स्थानीय तहको मतपरिणाम आउन पाँच दिन लाग्ने बताएको थियो। तर, काठमाडौं महानगरको परिणाम आउन भने एक साता लाग्ने भएको छ। हालको मतगणनाको प्रकृति हेर्दा महानगरको परिणाम आउन एक साता लाग्ने देखिएको हो। काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता रहेका छन्। ६४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। यस अर्थमा १ लाख ९० हजार बढी मतदान भएको देखिन्छ।  निर्वाचन अधिकृत ठाकुर शर्माका अनुसार एउटा मतपत्र गणना गर्नको लगि सरदर पाँच मिनेट लाग्छ। यसैले मतपरिणाम आउन ढिलो हुने जिल्ला निर्वाचन अधिकृत शर्माले बताउनुभयो।  शनिबार बिहान सार्वजनिक गरेको निर्वाचन आयोगको तथ्याङ्क अनुसार काठमाडौं महानरमा २४ घण्टामा दुई प्रतिशत मात्र मतगणना भएको छ । 

 अन्य पाँच महानगरको अवस्था ?

काठमाडौं बाहेकका पाँच महानगरपालिकाको मतगणना शनिबार ढिला सुरु भएको छ।  पोखरा महानगरपालिकामा मतगणना ढिला गरेर सुरु भएको छ। महानगरमा शनिबार दिउँसो सवा ४ बजेबाट मतगणना सुरु भएको छ। जहाँ दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो। ललितपुर महानगरमा पनि शनिबार दिउँसो साढे १२ बजेदेखि मतगणना सुरु भएको छ। 

वीरगञ्ज महानगरको मतगणना शनिबार दिउँसो ३ बजेबाट सुरु भएको छ। जहाँ ९३ हजार ७८२ मत खसेको थियो।  भरतपुर महानगरको मतगणना पनि शनिबार बिहान ११ बजेपछि सुरु भएको छ। जहाँ  एक लाख २७ हजार ८३९ मत खसेको छ। सो महानगरमा  एक लाख ८५ हजार ७५२ मतदाता छन्। यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

विराटनगर महानगरपालिकाको शनिबार बिहान ८ बजेपछि मात्र मतगणना सुरु भएको छ। विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता छन्। निर्वाचनमा ८९ हजार ८ सय ९६ मत खसेको थियो।