राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् । 
११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उहाँले बताउनुभयो । राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 
सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले स्पष्ट गर्नुभयो । सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छ । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो । 
यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।