भित्री वस्त्रमा लागू औषध लुकाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। झापाको भद्रपुर-गलगलिया नाकाबाट ब्राउनसुगर भित्र्याउने  साविक तोपगाछी गाविस ५ घर भइ हाल विर्तामोड नगरपालिका- १ स्थित हनुमानगरमा बस्ने ३४ वर्षीया मञ्जु चापागाईंलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। 

शुक्रबार बिहान साढे १० बजेको समयमा प्र-१-०१-०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाईंलाई मेची पुलमा तैनाथ सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा लागू औषध फेला पारेको हो। उनले लगाएको भित्री वस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउनसुगर, नेपाली पाँच हजार ७५ रुपैयाँ र ७ सय ९९ भारतीय रुपैयाँसहित पक्राउ गरेर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको  छ।