बुढानीलकण्ठ नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुको कक्षा १० का विद्यार्थीहरुलाई एक दिने “एस.ई.ई./SEE २०७९ नतिजा सुधार कार्यशाला” सञ्चालन गरिएको छ ।

आउदै गरेको SEE परिक्षा २०७९ लाई लक्षित गर्दै विज्ञ प्रशिक्षकहरु मार्फत विद्यार्थीहरुलाई परिक्षा सम्बन्धी विभिन्न ज्ञान र सिप दिने उद्धेश्य सहित नगर शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सो कार्यशाला सञ्चालन भएको हो ।

कार्यक्रममा नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयबाट ५०४ जना SEE दिने विद्यार्थीहरु सहभागी थिए ।

वडा नं ०६ स्थित युरो स्कुलको सभाहलमा भएको यस कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्मा, शिक्षा महाशाखा प्रमुख एवं कार्यक्रम संयोजक ललित विक्रम सिंह, शिक्षा महाशाखा अधिकृत ईन्द्र प्रसाद दहाल, शिक्षा महाशाखा कर्मचारी सुकुदेव राई तथा प्रशिक्षक चिन्तामणि पन्थी, लवडेन भट्ट र हुकुम प्रसाद दाहाल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक/शिक्षिका र विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

सामुदायिक विद्यार्थीहरुलाई थप जागरुक बनाउन र नगरपालिकाको जि.पि.ए. नतिजा पहिलेको वर्ष भन्दा थप अङ्कले अभिवृद्धि गर्ने कार्यक्रमको मुल उद्देश्य सहित यस कार्नयशाला आयोजना गरिएको शिक्षा महाशाखा अधिकृत ईन्द्र प्रसाद दहालले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै नगर प्रमुख मीठाराम अधीकारीले सम्पुर्ण विद्यार्थिहरुलाई SEE परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थिहरुलाई विशेष पुरस्कार सहित सम्मान गरिने भन्दै मेहनतका साथ तयारी गर्नुहुन अनुरोध गर्नु भएको थियो ।

यस्तै नगर उपप्रमुख अनिता लामाले विद्यार्थी भाईबहिनिहरुलाई SEE पश्चात आफ्नो रुचिको क्षेत्रमा वृत्ति विकास तर्फ पनि विशेष ध्यान दिनुहुन सल्लाह दिनु भयो । विद्यार्थिहरुको क्षमता र सिप अभिवृद्धिका लागि नगरपालिका स्तरमा वृत्ति विकास महोत्सव, कफि-वारिष्टा तालिम, उद्यमशिलता तालिम लगायत अन्य थुप्रै कार्यक्रम र योजनाहरु सञ्चालन भईरहेकोले उक्त कार्यक्रममा सहभागि हुन समेत उहाँले आग्रह गर्नु भएको थियो ।

राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले SEE लक्षित यस्तो कार्यक्रम उपत्यकामै पहिलो पटक बूढानीलकण्ठ नगरपालिकाले गरेको भन्दै संयोजक शिक्षा महाशाखाका सम्पुर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । परिक्षा हलमा पुग्नासाथ विद्यार्थिहरुमा आत्मबल कम हुने थुप्रै उदाहरण आफुले देखेको अनुभव सुनाउँदै उहाँले यस किसिमका कार्यक्रम मार्फत विद्यार्थिहरुलाई परिक्षा हलमा थप हौसला मिल्ने र आत्मबल कायम राख्न मद्दत गर्ने बताउनुभयो ।

कार्यशालामा विभिन्न विषय विज्ञहरु द्वारा विद्यार्थिहरुलाई प्रशिक्षिण दिईएको थियो । विज्ञान विषयको प्रशिक्षक चिन्तामणि पन्थी र लवडेन भट्टले लिनुभएको थियो भने गणित विषयको प्रशिक्षक हुकुम प्रसाद दाहालले लिनुभयो ।

साथै नगरपालिका शिक्षा महाशाखा अधिकृत ईन्द्र प्रसाद दहालले पनि परिक्षाहलमा पालना गर्नु पर्ने परिक्षा-पत्रको नियम, अनुशासन लगायत विभिन्न प्राविधिक विषयहरु सिकाउनुभएको थियो ।