साउदी युवराज मोहम्मद बिन सलमानले विश्वले इरानलाई नरोकेमा पेट्रोलियम पदार्थको मूल्य कल्पनै नगरेको हिसाबले बढ्ने चेतावनी दिएका छन्। उनले साउदी अरेबिया र इरानबीचको युद्धले विश्वकै अर्थतन्त्र ध्वस्त हुने समेत बताएका छन्।  साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा यही सेप्टेम्बर १४ मा आक्रमण भएकोमा साउदी अरेबियाले इरानलाई दोष दिँदै आएको छ। उता सो आक्रमणको जिम्मेवारी यमनको विद्रोही समूह हुथीले लिएको छ । तर, अमेरिका र युरोपेली मुलुकले पनि आक्रमणको दोष इरानलाई नै दिँदै आएका छन् । साउदी अरेबियाका डि फ्याक्टो शासकका रुपमा रहेका युवराज सलमानले इरानलाई रोक्नका लागि विश्वले यदि कडा कदम चाल्दैन भने त्यसले विश्वकै चासोलाई चुनौती सिर्जना गर्ने जनाएका छन् ।  ‘‘तेलको वितरण अवरुद्ध हुनेछ र तेलको मूल्य कल्पनै नगरेको उच्च दरले बढ्नेछ, जुन हामीले हाम्रो जीवनकालमा देखेका छैनौं,’’ साउदी युवराजले भनेका छन् । उनले मध्यपूर्व क्षेत्रले विश्वकै ३० प्रतिशत उर्जा उपलब्ध गराइरहेको उल्लेख गर्दै २० प्रतिशत ग्लोबल ट्रेड प्यासेज र ४ प्रतिशत कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पनि धानिरहेको उल्लेख गरेका छन् ।  उनले भनेका छन्, ‘‘कल्पना गर्नुस्, यी तीनवटै कुरा रोकिन्छन् । यस्तो हुनु भनेको विश्वकै अर्थतन्त्र ध्वस्त हुनु हो । साउदी अरेबियाको मात्रै होइन, मध्यपूर्वका अन्य देशको पनि हो ।’’ साउदी युवराजले पत्रकार जमाल खसोग्जीको हत्यामा आफूले पनि केही जिम्मेवारी लिने समेत बताएका छन् । तर, आफूले व्यक्तिगत रुपमा नै निर्देशन दिएको कुरा भने अस्वीकार गरेका छन् ।