चरीकोट, कात्तिक १४ गते । नेपालकै सबैभन्दा ठूलो दोलखाको गौरीशङकर गाउँपालिका–९ को च्छोरोल्पा हिमतालमा पर्यटकको घुइँचो लाग्न थालेको छ । कोरोना भाइरसकाे बढ्दाे सङ्क्रमणका कारण करिब दुई वर्षसम्म बन्द रहेको च्छोरोल्पा हिमताल गत असोज महिनाबाट खुल्ला भएपछि पर्यटकहरुको घुइँचो लाग्न थालेको स्थानीय श्रीया श्रेष्ठले जानकारी दिनुभयो ।

समुद्र सतहबाट ४,५८० मिटरको उचाइमा रहेको सो तालसम्म पुग्न पाँच दिनको पैदल यात्रापछि आउने पर्यटकको सङख्या दिनानुदिन बढ्दै गइरहेको उहाँले बताउनुभयो ।

गौरीशंकर गाउपालिकाको रोल्वालिङ उपत्यकामा रहेको सो स्थान पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चक स्थलको रुपमा रहेकाले सबैको आकर्षणको केन्द्र बन्दै गइरहेको स्थानीय रत्ना तामाङको कथन छ ।

कोरोना महामारी अघि बाह्य पर्यटकले खचाखच हुने यो हिमताल अहिले आन्तरिक पर्यटकहरुको भीडले होटल व्यवसायीहरुलाई धान्न हम्मे हम्मे परेको होटल व्यवसायी थुल्डु शेर्पाले बताउनुभयो ।

यो वडा दशैँपछि मात्र करिब एक हजार आन्तरिक पर्यटकको आगमन भइसकेको छ भने दिनप्रतिदिन संख्या बढ्दै गइरहेको उहाँले जानकारी दिनुभयो ।

सिमीगाउँबाट सुरमुर्चे, क्याल्चे, दोङयाङ, वेदिङ र ना हुँदै यो तालसम्म पुग्न सकिन्छ । साहसिक पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलको रुपमा प्रख्यात मानिने रोल्वालिङ उपत्यकाको च्छोरोल्पा पुग्दा संसार जितेको महसुस हुने आन्तरिक पर्यटकहरुको भनाइ छ ।