राजनितिलाई बुझ्ने मेरो एउटा सिधा लाईन छ। ‘राजनिति भनेको हामी कलेक्टिभली के एचिभ गर्ने भन्ने प्रश्न हो।’ समाजका समस्यालाई घटाउँदै लाने, अवसरहरु बढाउँदै लाने, हिजो भन्दा आज र आज भन्दा भोली आफ्नो स्थानलाई राम्रो बनाउँदै जाने हो। कुनै पनि राजनितिक दलले स्थानीय भुगोल र जनशङ्ख्यालाई दिर्घकालमा कस्तो बनाउने सपना देख्छन् भन्ने विषयनै स्थानीय राजनिति हो। 

तर, दलहरुले स्थानीय अधिवेशन सकाउँदा पनि बूढानीलकण्ठका मुद्दाहरुमा केही बोलेको देख्न र सुन्न पाइएन। नगरका राजनितिक दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको सिङ्गो संगठनले बूढानीलकण्ठ लाई कस्तो बनाउने सोच्छन? यहाँको समस्यालाई कसरी हेर्छन्? कुन वर्गका मानिसको स्वार्थमा काम गर्न खोज्छन्? यि र  यस्ता धेरै प्रश्नहरु पार्टीमा छलफल गर्न, त्यो छलफल बाट निस्कने निश्कर्ष र नीतिहरु लागु गर्न नेतृत्व चयन गर्ने हो। तर नीतिगत बहसमा भन्दा नेतृत्वमा मात्र केन्द्रित हुने राजनितिले हामीलाई दिर्घकालिन विकास सँग जोड्न सकिरहेको छैन। 

यहाँ त कस्तो भयो भने मजदुर, किसान र श्रमिकको पार्टि भन्ने अनि सिँचाईको कुलो मासेर जग्गा व्यवसायिलाई सजिलो हुने हिसाबले बाटो बनाईदिने। किसानको हित हुने सिँचाई व्यवस्था त एजेण्डा नै बन्दैन। पर्यटकिय नगर भनेको छ डाँडामा डोजर हानेर भएको स्वरुप पनि बिगारेको छ। यो अलि मिल्दो देखिएन। सार्वजनिक विद्यालय सुधार गर्ने भनेको छ अनि मास्टरलाई राजनितिमा लगाको छ।

यत्रो अधिवेसन भयो न त विद्यालय सुधारको नीति यो हुनेछ भनेर छलफल भयो। न त सार्वजनिक जग्गा र खुल्ला स्थानको बारेमा कुनै पार्टीले बोले। स्वास्थ्य सेवा सुधारको विषयमा धारणा सम्म बनाएनन्। पर्यावरणको विषयमा कसैले ध्यान दिएनन्।

यसको अर्थ के हो? यसको अर्थ हो उनिहरुलाई सामाजिक, वातावरणिय, शैक्षिक, आर्थिक कुनै किसिमको मुद्दा सँग पनि कुनै सरोकार छैन। केवल शक्ति बचाईराख्ने, आफु र आफ्नो संगठन मार्फत कसरी राज्य स्रोतको कब्जा गर्ने र दोहन गर्ने अनि फेरी शक्तिमा आउने भन्ने सरोकार मात्र भयो। 

पार्टीमा किन छलफल गर्ने?

भोली पार्टीले नेतृत्व गर्ने अवसर पाउँदा दलका स्थानीय नीतिहरु लागु गर्न सकियोस। संविधानले दिएका मौलिक हकहरुमा काम गर्न सकियोस। कुन दलको कार्यक्रम राम्रो छ भन्ने आधारमा जनताले भोट गरुन। पार्टीका सदस्यहरु त्यही मुद्दाहरुमा आधारित भएर आफ्नो खोज गर्ने, त्यसलाई लागु गर्न अध्ययन गर्ने र चाहिने कौशलहरु सिक्ने तर्फ जान सक्छन्। एजेण्डामा आधारित राजनितिको सुरुवात हुन सक्छ। अहिले त नाम मात्र फरक तर एजेण्डा सबै उस्तै जस्तो भएको छ। 

एजेण्डामा आधारित राजनिति नहुँदा के हुन्छ? 

एजेण्डामा आधारित नहुँदा व्यक्तिगत सम्बन्ध, कसले भनेको मान्छ भन्ने आधारमा पार्टी भित्र समिकरणहरु बन्ने गर्दछन्। को नेता वा कार्यकर्ता आउँदा हामी सुरक्षित हुन्छौँ भन्ने प्रश्नले ठाउँ पाउँछ। त्यसमा कुनै क्षमता भन्दा पनि निर्देशन पालना गर्ने मान्छे खोज्न थालिन्छ। पार्टिको नीतिलाई अगाडी बढाउन यस्तो स्किल भएको मान्छे चाहिन्छ भन्दा पनि म सुरक्षित हुन यस्तो मान्छे चाहिन्छ भन्ने सोच हावि हुन थाल्छ। 

संस्कार र कामको संस्कृति सिक्ने पार्टीमा नै हो।

अहिलेको लिडरसिपको समस्या भनेको मेरिट बेसिस मा आएको workforce लाई कसरी काम लगाउने भनेर पहिल्याउन नसक्नु हो। किनकि पार्टीमा त आफुलाई सजिलो हुने मान्छे राखेको हुन्छ। नेताले भनेको मान्ने मान्छे मात्र आउँछ, त्यहाँ छलफल र बहस हुँदैन। उसले त्यहाँ निर्देशन दिए पुग्छ त्यही सिक्छ। डिटेलिङ सिक्दैन। गफ दिन सिक्छ। अनि निर्वाचित भएपछि पनि त्यस्तै हुन्छ। तर सार्वजनिक पदमा त मेरिट बेसिसमा आएका मान्छे हुन्छन्। निर्देशन भन्दा पनि विधी, नियम, कानुनको आधारमा चल्ने संयन्त्र हुन्छ। त्यहाँ त गफले चल्दैन। तर जानेको त त्यही छ। अनि पार्टीमा सजिला मान्छे सँग काम गरेको त्यहाँ सबै अप्ठेरो लाग्न थाल्छ।

यस्तो सवालहरुको मामलामा छलफल गर्ने फेरी पनि दलहरुले नै हो। कुनै पनि पार्टी साध्य हैन, साधन हो । पार्टी विचार, सिद्धान्त, एजेण्डा र आन्दोलनको संस्थागत केन्द्र हो । कुनै पनि पार्टी जबसम्म ती चिजमा टिकेको हुन्छ, त्यस्तो पार्टी आफैंमा एक आस्था र आदर्श बन्छ । ‘महान’ र ‘गौरवशाली’ बन्छ । जब ती चिजबाट स्खलित हुन्छ, त्यसको सान्दर्भिकता कमजोर हुँदै जान्छ वा समाप्त हुन्छ । त्यो न ‘महान’ रहन्छ न ‘गौरवशाली’। 

दलहरु जनताका प्रतिनिधी हुन्। दलहरुले जनताका एजेण्डा बोकेनन् समय अनुसार परिमार्जित भएनन् भने दल र जनता बिचको सम्बन्ध विस्तारै टाढा हुँदै जान्छ। आज १० जनामा ८ जना युवा विदेश जान खोजिराछ। गएर आएपछी पुनः जान खोज्छ वा उतै बस्न खोज्छ। खेति गर्न खोज्ने किसानले पनि कुलो पाउँदैन। स्थानीय चुनाव पनि छिट्टै आउँदैछ, यस्ता प्रश्नहरु बारे छलफल गर्न दलहरुले ढिलो नगरुन्। अहिले देखिनै छलफल थाल्न व्यक्तिगत रुपमा मेरो शुभकामना छ। 

 

( यो लेख लेखकको नितान्त  निजि विचारमा आधारित रहेको छ ।)