सडकको दूर्दशाले तातोपानी नाका केही दिनयता प्रभावित भएको छ। अविरल झरीले जमिन भासिने र ठाउँठाउँमा पहिरो खसेर कोदारी सडक अवरुद्ध हुने गरेकाले असार महिनाको सुरुवातबाटै नाका प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय चरिकोटलाई गत वर्षदेखि नै स्थानीय सरकार, तातोपानी भन्सार र सीमावासीले जीर्ण कोदारी सडक बनाउन पटकपटक आग्रह गरेका थिए। यद्यपि, सडक डिभिजनले बजेट पठाउन आनाकानी गर्ने र रकम पठाए पनि बर्खामासमा काम गर्ने परिपाटी बसालेकाले सडक मर्मत ‘बालुवामा पानी’ भएको छ। 
यता वार्षिक करोडौँको अनुदान हिसाब देखाएर भूकम्प गएदेखि सडक मर्मत गर्दै आएको चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिसिआरसी) ले बनाएको सडक हिउँदमा टिक्ने बर्खामा बगाउने गरेको छ। सडक समस्याले तातोपानी नाकाको आयात प्रभावित भएको सरकारी निकायलाई जानकारी छ। तर, कसैको पनि  सडक सुधार्नेतिर ध्यान छैन। 
बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडकखण्ड सबैभन्दा बढी कोदारी क्षेत्रमा बिग्रिएको छ। तलबाट भोटेकोसी नदीले तान्ने र माथिबाट जमिन भासिँदै जाने कमजोर भूगोल भएकाले असारयता खासाबाट सुक्खा बन्दरगाह लार्चा आउने चिनियाँ ट्रेलर सीमामा रोकिएका छन्। भासिएको सडक बनाउन दैनिक एक्स्काभेटर चलाउँदा कोदारी गाउँ जोखिममा परेको छ। केही घर बगेर सडकछेउ आएको छ। सखुवा, बसेरी, झ्यालेभिरलगायत क्षेत्रमा पहिरो गइरहने भएकाले सडकयात्रा अतिजोखिमपूर्ण छ।  
भूकम्पअघि तातोपानी भन्सारले दैनिक पाँच करोड राजस्व संकलन गर्थ्यो। अहिले दैनिक ८० लाखसम्म उठ्छ। केही दिनयता सडकको मारमा परेर तातोपानी भन्सारले राजस्व संकलन गर्न सकेको छैन। खासाबाट अहिले ठूलो मात्रामा स्याउ आयात भइरहेको छ। वेलावेलामा सडक बन्द भएर ट्रेलर बीचैमा अड्कँदा स्याउ कुहिन थालेका छन्।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले दिनु भएको जानकारी अनुसार खासा क्षेत्रमा आइपुगेको स्याउ कुहिन थालेको छ। केही दिनयता राजस्व संकलन प्रभावित भएको बताउँदै गौतमले भन्नुभयो, ‘कोदारी सडक जीर्ण भएकाले खासा आइपुगेका सामान आयात गर्न ढिलाइ भएको छ।’ चीनबाट खासा हुँदै स्याउ, डोजर, मेसिनरी सामान, मेलम्ची खानेपानी आयोजनाका ठूला फलामे पाइप आयात भइरहेको उहाँले बताउनुभयो।  
भूकम्प र भोटेकोसी बाढीले ढालेको तातोपानीका भौतिक संरचना अझै उठ्न सकेन। कसैले उठाउन प्रयत्न पनि गरेनन्। न सरकारी भवन बने न त निजी अवास नै ठडिए। कमजोर भूगोल रहेको नेपालपटि कुनै पनि भौतिक संरचनाको पुनर्निर्माण र पूर्वाधार तयारी भएको छैन। खासासँग आमने–सामने रहेको लिपिङ २०७२ यता सुनसान छ। 
उता चिनियाँ क्षेत्रमा धमाधम पुनर्निर्माण भइरहेको छ। भोटेकोसीको बहाब  र कटानलाई रोकेर भूगोल संरक्षणमा चिनियाँ नागरिक पारिपट्टि रातदिन काम गरिरहेका छन्। हामी नेपाली वारिपट्टि भोटेकोसीले दिनहुँ कटान गरिरहेको हाम्रो भूगोल टुलुटुलु हेरेर बस्न बाध्य छौँ। चिनियाँ क्षेत्रमा सरकारी भवनदेखि निजी अवासको पुनर्निर्माण पनि सँगसँगै गरिँदै छ। भूकम्पपछि लिपिङ क्षेत्रमा बसोवास गर्ने कम्तीमा एक सय परिवार पूर्ण रूपमा विस्थापित भएका छन्।