काठमाडौं, वैशाख १० गते । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता आइतबार र सोमबार हुँदैछ । उम्मेदवारले आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ताका लागि नागरिकतादेखि पार्टीको सिफारिसपत्रसम्म आवश्यक पर्दछ । 

स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को परिच्छेद (९) अनुसार स्थानीय निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ ।

वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुँदैछ । दाबी, विरोध र फिर्ताको समय दिएर वैशाख १५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ भने वैशाख २८ गतेसम्म उम्मेदवारले चुनावी प्रचार गर्न पाउने छन् ।

उम्मेदवार हुन नेपाली नागरिक र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति मात्रै उम्मेदवार हुन पाउँछ ।  कुनै कानूनले अयोग्य नभएको व्यक्ति र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदका लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य भएको महिला उम्मेदवार हुन सक्ने व्यवस्था छ । 

ऐन अनुसार सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्ति स्थानीय तहमा उम्मेदवार हुन पाउने छैनन् । 

हाल स्थानीय तहमा कार्यरत जनप्रतिनिधिले पुनः उम्मेदवार हुनका लागि आफ्नो पदबाट राजीनामा दिएका छन् । उम्मेदवारी दर्ता गर्दा राजीनामा स्वीकृत भएको पत्रसमेत लिएर जानुपर्ने हुन्छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवार हुनका लागि सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्ति पनि स्थानीय निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् । तर स्थानीय तहमा उम्मेदवार हुन कुनै पनि दलको सदस्य हुनुपर्ने बाध्यता भने छैन ।

देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि आवश्यक ३५ हजार २२१ पदका लागि निर्वाचनमा हुनेछ । उम्मेदवारको सङ्ख्या मनोनयनको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै टुङ्गो लाग्नेछ ।

वि.सं.२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी एक लाख ४८ हजार ३६४ जना उम्मेदवार सहभागी रहेको निर्वाचन आयोगको तथ्याङ्क छ । निर्वाचनमा ५७ दल सहभागी भएकामा १८ वटा दलको प्रतिनिधित्व रहेको थियो । 

उम्मेदवार दर्ता गर्दा लाग्ने खर्च 

दफा ३५ बमोजिम उम्मेदवारको मनोनयन पत्र दाखिला गर्दा केही रकम धरौटी राख्नुपर्ने हुन्छ । वडा सदस्यका लागि पाँच सय, वडा अध्यक्षका लागि एक हजार, पालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख तथा उपप्रमुख पदका लागि एक हजार पाँच सय रुपियाँ, गाउँ कार्यपालिका र नगर कार्यपालिकाको महिला र दलित वा अल्पसङ्ख्यक सदस्यका लागि दुई सय पचास रुपियाँ लाग्छ । 

जिल्ला समन्वय समितिको सदस्यका लागि एक हजार पाँच सय र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका लागि दुई हजार रुपियाँ तोकिएको छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा पचास प्रतिशत छुट हुने व्यवस्था छ । 

उम्मेदवारी दर्ताका लागि सम्बन्धित स्थानीय तहमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्नुपर्ने छ । उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारले मनोनयनपत्रमा प्रस्तावक र समर्थकको हस्ताक्षर पनि गराउनु पर्नेछ ।