काठमाडौं, वैसाख १ गते । बेच्लर अफ माउन्टेनेरिङ स्टडिजमा अध्ययनरत आठौं सेमेस्टारका विद्यार्थीहरुले हिमलुङ हिमाल (७१२६ मिटर) को आरोहण गर्ने भएको छ । १५ जना विद्यार्थीहरुले पर्यटन विभागबाट अनुमति लिएर आधारशिविरतर्फ लागेका छन् ।

 संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) ले हिमालको अध्ययन र अनुसन्धान गर्ने गरी चार वर्ष अघिदेखि पठनपाठन शुरु गरेको छ । 

एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेपछिको यो पहिलो आरोहण हो । 

आरोही विद्यार्थीको टोलीलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड गेल्जे शेर्पाले आरोहणमा नेतृत्व गर्ने एकेडेमीका प्रशासकीय प्रमुख उत्तम भट्टाराईले जानकारी दिनुभयो । टोलीमा एकेडेमीका सुपरभाइजर डा. वेहरोउज मोघाडेसीको समेत सहभागिता रहेको छ । 

एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेकाे छ । एकेडेमीबाट यो पहिलो आरोहण रहेको र प्रत्येक वर्ष नियमित आरोहण गर्नुपर्ने भट्टाराईले जानकारी दिनुभयो ।

 विश्वमै पहिलो पटक हिमाल अध्ययनसँग सम्बन्धित रहेर एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर चार वर्ष अघिदेखि बेच्लर अफ माउन्टेन स्टडिस र स्नातोकोत्तर तह विषयको अध्ययन शुरु गराएको हो । नेपालमा पर्वतारोहण सम्बन्धी प्रशिक्षण र अध्ययन गराउने  संस्था यही मात्र हाे ।

-गोरखापत्र