उसो त,

मायामा पूर्णबिराम लाग्नु भन्दा पहिले कैयौं चोटी प्रश्नवाचक चिन्हले आत्महत्या गरिसकेका हुन्छन्।

सुरुमा

विशेषणको भारी मतले हृदय जितेर अघि बढेको प्रेम,

अल्पबिराम नलागुन्जेल त मौलाउंदै जान्छ:

अनि त्यसपछि हो फड्को मार्ने भावनाहरुले।

विस्मय :- भावनाको मार्गदर्शक !

विस्मय !

जब सकारात्मक हुन्छ,

आत्मीयताको डिको लामो तानिँदै जान्छ:

भाग्य र बिश्वास जोडिन्छन्, अमर गाथा लेख्न थाल्छन्।

विस्मय!

जब नकारात्मक उनिंदै जान्छ,

अनेकौं प्रश्न उधृत हुँदै जान्छन् ...

अन्ततः

जीवन र प्रेमको व्याख्या गर्न हिंडेका सपनाहरु

सारांश भित्रै कुंजिने गर्छन् ;

एउटा अन्तिम पुर्णबिरामसंगै ।

उसो त,

जीवनमा पूर्णबिराम लाग्नु भन्दा पहिले कैयौं चोटी

हृदयले पनि आत्महत्या गरिसकेको हुन्छ ।

©अनामिका गौतम

Anamika Gautam

Visual Artist/Illustrator