शुक्रबार दिउँसो घाँस काट्न निस्केकी महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको शव हत्या गरिएको अवस्थामा भेटिएको छ। घटनास्थलको प्रकृतिले उनको बलात्कारपछि हत्या भएको आशङ्का स्थानीय र प्रहरीले गरेको छ। 

स्थानीय युवा हैदर अन्सारीले घाँस काट्न निस्केकी खातुन अबेरसम्म घर नफर्किएपछि ससुराको सहयोगमा प्रहरीलाई जानकारी गराएर उनको खोजी गरेका थिए। 

गाउँभन्दा एक किलोमिटर पूर्व बिग्ही नदीको छेउमा रहेको बाँसघारीमा उनको शव भेटिएको थियो। घटनास्थलमा केही ठाउँमा घिसारेको जस्तो देखिन्छ। उक्त क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको ओहोरदोहोर हुने भन्दै स्थानीले प्रहरीसँग गम्भीर अनुसन्धान गर्न माग गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवले महिलाको शरीरको चार ठाउँमा फलामको सानो हतियार प्रयोग गरेर हत्या गरिएको जानकारी दिनुभयो। 

बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि मेडिकल रिपोर्टपछि मात्रै त्यसको पुस्ट्याइँ हुने उहाँले बताउनुभयो। घटनास्थलमा मुचुल्का उठाउँदै भेट्नुभएका प्रहरी प्रवक्ता यादवले घाँटी, छातीलगायतका ठाउँमा सानो हतियार प्रहार भएको देखिएको बताउनुभयो। 

स्थानीय प्रहरी चौकीमा महिला अहिलेसम्म घर नफर्किएको भनेर शुक्रबार साँझ खबर भएपछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजतलास गर्ने क्रममा राति करिब १० बजेतिर शव भेटिए थियो। 

प्रहरी नायव उपरीक्षक यादवले अनुसन्धान भइरहेको र चाँडै नै सत्य बाहिर आउने जानकारी गराउनुभएको छ। राति नै घटनास्थल पुग्नुभएका मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले महिलाको शरीरको विभिन्न भागमा रगत र कुटपिटको निशान देखिएको बताउनुभयो। 

मृतक महिलाको पति रोजगारीको क्रममा कतारमा छन् भने दुई छोरामध्ये एकजना वैदेशिक रोजगारमा र एकजना राजधानी काठमाडौंमा छन्।