स्याङ्जा क्षेत्र नं. २ का चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा एमालेले आरोप लगाएको छ । चापाकोट नगरपालिका वडा नम्वर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेको छ । 

एमाले नेतृत्वमा आज गरिएको पत्रकार सम्मेलनमा एमाले सचिव तथा क्षेत्र नं २ की उमेद्वार पद्मा कुमारी अर्यालले ४ बुथमा पुनः मतदानको माग गर्नु भएको हो । अनाधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकाएको अर्यालको दावी छ । 

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिनुभयो । ‘‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दैछौं । हामीलाई प्राप्त विवरण अनुशार शान्तपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ,’’ निर्वाचन अधिकृत शर्माले भन्नुभयो । 

शर्माका अनुसार २ नम्बरका सबै मतपेटिका सुरक्षित रुपमा निर्वाचन अधिकृतको कार्यालयमा आई सकेको छ ।  स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । यस्तै नेकपा एमालेको सचिव पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ लगायत उम्मेदवार रहेका छन् । 

यसैबीच सोमवार बसेको सर्वदलीय बैठकमा कुनै सहमती नभए पछि मतगणना बारे अन्यौलता भएको हो । अव कसरी अगाडि बढ्ने भन्नेमा परामर्शमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

आइतबार भएको मतदानमा जिल्लामा ५७.८५ प्रतिशत मत खसेको थियो । स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता रहेका थिए । एमालेले माग गरेको पुन मतदानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र केही स्वतन्त्र उमेद्वारले पनि साथ दिएकाछन् ।