दशरथ रङ्गशालामा बुधबार साँझ नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । 

खेलअघि मंगलबार आयोजित प्रि–म्याचकन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा पनि खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने बताउनुभयो । 

‘‘पाकिस्तान लामो समयपछि फुटबलमा फर्किएको छ । हामीले भर्खर मात्र बङ्गलादेशलाई हराएका छौँ । खेलाडीको मनोबल उच्च रहेको छ । मैदानमा हामी जितको लक्ष्यका साथ उत्रनेछौँ,’’ कटुवालले भन्नुभयो । नेपाली टोलीका केही राम्रा खेलाडी बाहिर (अस्ट्रेलिया) गएपनि भएका खेलाडीको प्रदर्शन राम्रो रहेको कटुवालको भनाई छ ।

उहाँले नियमित गोलरक्षक किरण चेम्जाङको अनुपस्थितिमा अभ्यासमा राम्रो गर्ने गोलरक्षकलाई खेलाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रशिक्षकको रूपमा राष्ट्रिय टोली हेर्न पाउनु आफ्ना लागि जीवनकै खुसीको क्षण भएकोले यसलाई सही सदुपयोग गर्नेछु ।’’ नेपाली टोलीको गोलरक्षकमा अहिले विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु हुनुहुन्छ ।

नेपाली टोलीका कप्तान रोहित चन्दले टोलीमा लामो समय खेले पनि कप्तानको रूपमा खेल्न पाउनु खुसीको क्षण भएको बताउनुभयो । ‘‘पाकिस्तान हाम्रो लागि सधैँ बलियो प्रतिद्वन्द्वी हो । तर हामी सबै खेलाडीको मनोबल उच्च छ । भोलिको खेल ‘टप’ हुनेछ । हामी जित्ने प्रयास गर्नेछौँ,’’ चन्दले भन्नुभयो । उहाँले कप्तान हुन्छु भनेर कहिल्यै नसोचेको र मैदानमा सबै खेलाडी कप्तानको रूपमा रहने पनि बताउनुभयो । 

यसैगरी पाकिस्तान टोलीका प्रशिक्षक शहजाद अनवरले तीन वर्षपछि पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको बताउनुभयो । ‘‘विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धले हामीलाई केही असहज भयो । तरपनि खेलाडीले घरेलु प्रतियोगिता खेलिरहेका छन् । केही खेलाडी विदेशमा समेत खेलिरहेकोले प्रदर्शनमा खासै फरक पर्दैन,’’ अनवरले भन्नुभयो । उहाँले टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेकोले नेपालसँग उत्कृष्ट खेल्ने पनि बताउनुभयो । 

पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँग राम्रो फुटबल खेल्ने बताउनुभयो । ‘‘नेपालसँग मैले चार पटक खेलिसकेकोले टोलीको बारेमा म जानकार छु । घरेलु दर्शकको फाइदा नेपाललाई हुनेछ । तर हामी पनि कम छैनौँ,’’ बसिरले भन्नुभयो । 

फिफा वरीयतामा नेपाल पाकिस्तानभन्दा माथि छ । फिफा वरीयतामा नेपाल एक सय ७५औँ र पाकिस्तान एक सय ९४औँ स्थानमा छ । नेपाल र पाकिस्तानबीच यसअघि १६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले चार खेल जितेको छ । नेपालले सात खेलमा हार खेपेको छ भने पाँच खेल बराबरीमा सकिएको छ । 

दशरथ रङ्गशालामा बुधबार हुने खेल नेपालका लागि ५०औँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले दशरथ रङ्गशालामा पहिलो पटक सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । नेपालले सागको पहिलो खेलमा मालदिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।