उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जना ठगलाई प्रहरीले पक्राउ गरेको छ । आपूहरु सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको अभियोगमा दुई जना ठगलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुर्चीका २३ वर्षीय दिलिप भनिने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृतसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले बताउनुभयो ।

चौदण्डीगढी नगरपालिका ८ घर भई हाल त्रियुगा नगरपालिका १२ त्रिवेणी टोलमा बस्दैआएका राजबल राईलाई धम्की दिई जबरजस्ती नियन्त्रणमा लिएर निजहरुले ठगी गरेका थिए । स ३ प ९१५५ नम्बरको मोटरसाइकलमा सवार रहेका मगर र चौधरीले राईको साथबाट २० हजार नगद र मुक्तिनाथ विकास बैंकको ५० हजारको चेकमा जबरजस्ती हस्ताक्षर गराएर काट्न लगाएर रेडमी ८ मोडलको स्मार्ट मोबाइलसमेत लिएर गएको पीडितको भनाइ छ ।

आफू ठगीमा परेपछि राईले जिल्ला प्रहरी कार्यालय उदयपुरमा खबर गरेलगत्तै प्रहरीले खोजतलासको क्रममा निजहरुलाई रौतामाई गाउँपालिका ७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत पोदारले जानकारी दिनुभयो । 

पक्राउ परेकाहरुको साथबाट ठगी गरेको मुक्तिनाथ विकास बैंकको चेक, मोबाइल र ठगीमा प्रयोग भएको स ३ प ९१५५ नम्बरको मोटरसाइकल तथा नगद दुई हजार रुपियाँ बरामद गरिएको सूचना अधिकृत पोदारले बताउनुभयो । जिल्ला अदालत उदयपुरबाट म्याद थपगरी निजहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।