सरकारले बीउबिजनसम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विपद् उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सिस्मत पोखरेलले उक्त कुराको जानकारी दिनुभएको हो । प्रवक्ता पोखरेलका अनुसार बैठकले 'बीउबिजन (पहिलो संशोधन) नियमावली– २०८३' स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पदक हासिल गरी राष्ट्रको मान बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मानपत्र प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ । 

त्यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको कार्यभार सम्हाल्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) पीडितको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।