पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ हाईस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मुग्लिङबाट पोखरा जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाईस नियन्त्रण गुमाएर सडकको डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । साँझ करिब ७ः१५ बजे भएको दुर्घटनामा परी हाईस चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–१ बस्ने ३७ वर्षीय भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ मासबार बस्ने ६३ वर्षीया राधादेवी बराल, सोही ठाउँका ७३ वर्षीय लीलाधर बराल, कास्कीकै पोखरा–१३ माझपाटन बस्ने ७३ वर्षीया चुनकुमारी गुरुङ र ४९ वर्षीया राधा गुरुङ घाइते भएका छन् ।

त्यस्तै, पर्साको सखुवा पर्सौनी गाउँपालिका–६ घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बस्ने ३५ वर्षीया सपना चौधरी, महोत्तरीको बलवा नगरपालिका–७ बस्ने ३६ वर्षीय रुपेश मिश्र, पोखरा–३२ बस्ने ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडिगाड गाउँपालिका–७ बस्ने २५ वर्षीया विपना विश्वकर्मा, तनहुँको व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय विकास ठकुरी र बन्दीपुर गाउँपालिका–२ बस्ने २८ वर्षीया सिर्जना अछामी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको र राजमार्गमा यातायात सञ्चालन भने निरन्तर रहेको प्रहरीले जनाएको छ ।