नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदै छ । साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङमार्ग अहिले एम्बुलेन्सलगायतका आकस्मिक तथा आपत्कालीन सवारीका लागि मात्र खुला गरिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक १५० देखि २०० सम्म आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्ग भएर ओहोरदोहोर गर्ने गरेको जानकारी दिनुभयो । त्यस्ता सवारीसाधनलाई निःशुल्क रूपमा ओहोरदोहोर गर्न दिइएको छ ।

अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपत्कालीन अभ्यास बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, “सुरुङलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यक तयारी अन्तर्गतै सुरुङमार्गभित्र आपत्कालीन उद्धार अभ्यास (मक्क ड्रिल) सम्पन्न भएको छ । आयोजना अन्तर्गत रहेका आपत्कालीन उद्धार समूह (इमर्जेन्सी रेस्पन्स ग्रुप) ले सफलतापूर्वक उद्धार अभ्यास सम्पन्न गरेका हुन् । यस समूहमा काठमाडौँ महानगरपालिका, चन्द्रगिरि नगरपालिका, युद्ध वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह रहेका छन् ।” सुरुङमार्गभित्र आगो लागेको अवस्थामा कसरी निभाउने भन्ने विषयमा अभ्यास गरिएको बताउँदै उहाँले यात्रुले खचाखच भरिएका बसमा आगो लागेको अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्नेलगायतको विषयमा थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । 

यसपछि सुरुङमार्ग सञ्चालनको जिम्मा लिएका कम्पनीले ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गर्छन् । त्यसको अध्ययन गर्छौं र स्वीकृत भएपछि चरणबद्ध रूपमा सुरुङमार्ग सर्वसाधारणका लागि व्यावसायिक रूपमा खुला हुने छ । सुरुको चरणमा साना गाडीलाई सुरुङभित्र सीमित गतिमा ओहोरदोहोरको स्वीकृति दिइने छ । कुनै कारणवश सुरुङभित्र ठुला सवारीसाधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले सुरुमा साना सवारीसाधनलाई सुरुङभित्र प्रवेशको अनुमति दिने उहाँले स्पष्ट पार्नुभयो । आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्गभित्र ओहोरदोहोरको अनुमति दिने गरी तयारी भइरहेको उपनिर्देशक ई. पन्थीले जानकारी दिनुभयो ।