बूढानीलकण्ठ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा सहभागी हुने बूढानीलकण्ठ डोजोका कराते खेलाडी तथा बास्केटबल टोलीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, खेलकुद विकास बोर्डका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष दीपक तामाङ, शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत ललित विक्रम सिंह र बूढानीलकण्ठ डोजोका प्रमुख प्रशिक्षक प्रेमलाल बम्जनले खेलाडी तथा प्रशिक्षकहरूलाई विदाई गर्दै प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले खेलाडीहरूको मेहनत, अनुशासन र लगनशीलताले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै विजयको अग्रिम बधाईसमेत दिनुभयो।

प्रतियोगितामा करातेतर्फ उषा कुमारी थापा दास, स्मिका बी.के. लगायतका खेलाडीहरूले सहभागिता जनाउनेछन्। टोलीको नेतृत्व प्रमुख प्रशिक्षक प्रेमलाल बम्जन र सहायक प्रशिक्षक शान्ति तामाङले गर्नुहुनेछ। प्रतियोगितामा शान्ति तामाङ, सृजना अधिकारी र हीरा देवी राई रेफ्रीका रूपमा सहभागी हुनुहुनेछ।

त्यसैगरी, बास्केटबलतर्फ राष्ट्रिय टोलीका कप्तान विराज रानासहित सगोल बरुवाल, आङ फुर्बा शेर्पा, राहुल थापा, बुद्ध लामा र विजय लामाले प्रतिस्पर्धा गर्नेछन्।

नगरपालिकाले खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बूढानीलकण्ठ नगरपालिका र राष्ट्रको गौरव बढाउन सफल होऊन् भन्ने कामनासहित शुभकामना व्यक्त गरेको छ।