काठमाडौँ, मङ्सिर २६ गते । पर्वतीय क्षेत्रमा खेलिने साहसिक खेलमध्ये मुख्य स्की खेलका लागि प्रशिक्षक नेपालमै उत्पादन शुरु भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले आठ जना प्रशिक्षकका लागि तालिम दिने भएको हो ।

यस अघि स्बीट्जरल्यान्ड र फ्रान्सको अल्पाइन क्लबले नेपाली पर्वतारोहण गाइडलाई दोस्रो तहको स्की तालिम दिँदै आएको थियो तर हाल नेपालमा तालिम दिन शुरु भएको प्रतिष्ठानका प्रशासकीय प्रमुख उत्तम भटट्राईले जानकारी दिनुभयो ।

स्वीजरल्याण्डबाट लेभल–३ को नेपाली प्रशिक्षक उत्पादन भई सके पछि लेभल–१ र २ को प्रशिक्षक नेपालमै उत्पादन गर्न शुरु भएको हो ।

प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले संयुक्त रुपमा तालिमको आयोजना गरी स्कीको लेभल–१ तालिम लिइएका आठ जनालाई स्की लेभल–२ र छ हजार मिटर उचाइका हिमाल आरोहण गरेका मध्ये २० जनालाई स्की लेभल–१ को तालिम दिन लागेको भटट्राईले जानकारी दिनुभयो ।

२०७८ पुस र माघ महिनामा सञ्चालन हुने उक्त तालिम छ हजार उचाइका हिमाल क्षेत्रमा आयोजना हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले बर्खायाममा मुस्ताङको ६ हाजार ३६१ मिटरको भृकुटी पिकमा स्की तालिम सम्पन्न गरेको थियो । छ वर्षयता देखि व्यावसायिक स्की खेलको विकास भएको थियो भने नेपाल पर्वतीय प्रतिष्ठानले २०७५ साल देखि तेस्रो स्तरको दक्ष स्की प्रशिक्षकलाई प्रशिक्षण दिन थालेको थियो ।

स्कीको सम्भावना देखिएपछि आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रशिक्षक प्रशिक्षित गर्न सुरु गरिएको भटट्राईले जानकारी दिनुभयो । यस अघि अन्तराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक छिरिङ जाङबु, रितेन जाङबु र आङदावा शेर्पाले स्विजरल्याण्डबाट तेस्रो तहका स्की प्रशिक्षक बनी सक्नु भएको छ ।

अन्य देशभन्दा फरक हुने हाइअल्टिच्युट स्कीको नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै प्रचारप्रसारसहित जनशक्ति व्यवस्थापन गर्न दक्ष प्रशिक्षक तयार पार्न थालिएको हो । प्रतिष्ठानले सोलुको मेरापिक, खप्तड, बागलुङको ढोरपाटन, मुक्तिनाथ, दोलखाको सैलुङ र मुस्ताङको भृकुटी पिकमा सम्भाव्यता अध्यन गरी स्की खेल्नयोग्य गन्तव्यमा विकास गरिसकेको छ ।
तीन हजार मिटरमाथिका हिमालमा स्की खेल्न सकिने अध्ययनले देखाएको छ । स्की गाइड र नियमावली नहुनु, भौगोलिक विकटता, होटललगायत सुविधा नहुँदा नेपालमा स्कीको विकास हुन नसकेको प्रशिक्षक छिरिङ जाङबु शेर्पाले बताउनुभयो। नेपालमा स्की खेल्न व्यक्तिगत रूपमा आउने गरे पनि सामूहिक रूपमा नआउँदा राज्यले राजस्व संकलन गर्न सकेको छैन ।

‘पर्वतारोहण पर्यटकको सम्भावना बढी छ, स्की पनि यसको एउटा माध्यम हो । जनशक्ति उत्पादनमा मन्त्रालय लागि परेको सस्कृति, पर्यटन तथा नागरिक उडड्नय मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले बताउनुभयो । सरकारले सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । स्कीलाई थप सहज र व्यवस्थित बनाउन समयानुकूल ऐननियम परिमार्जन गर्नु आवस्यकता रहेको प्रशिक्षक शेर्पाले बताउनुभयो ।

-गोरखापत्र