काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले कालोमोसो दलेका छन् ।

विद्यार्थीहरुले मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कनेक्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले नमस्कार सर भनेका थिए । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि कालोमोसो दलिएको हो ।

प्रहरीले शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई पक्राउ गरेको छ । नेकपा एसनिकटको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेको फेसबुकमार्फत जानकारी गराएका छन् ।