काठमाडौँ, पुस २१ गते । घरदैला र होटल रेस्टुरेन्टको फोहोर सडक किनारमा ल्याएर राख्नेमाथि काठमाडौँ महानगरपालिकाले रात्रिकालीन अनुगमन सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीमा यसरी फोहोर राख्दै आएका र स्थानीयबीच कुटपिट भएपछि महानगरपालिकाले रात्रिकालीन अनुगमन गरिरहेको जानकारी दिएको छ ।

महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार लगानी बोर्डमार्फत काठमाडौँ उपत्यकाको फोहोर निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिने विषयको अध्ययन पनि भइरहेको छ । नेप बेस्ट कम्पनी र महानगरपालिकाबीच फोहोर व्यवस्थापन गर्ने विषयको प्रारम्भिक विकास सम्झौताको टुङ्गोमा लगाउने कार्य अघि बढिरहेको राईले जानकारी दिनुभएको छ ।

कीर्तिपुर नगरपालिकाबाहेक उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा फोहोरमैला व्यवस्थापन केन्द्र खारेज भएपछि फोहोर व्यवस्थापनको दायित्व महानगरपालिकामा आएको थियो । महानगरपालिकाले निजी क्षेत्रसँग पनि सहकार्य गरेर सिसडोल ल्यान्ड फिल्ड साइटमा फोहोर व्यवस्थापन गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाले दैनिक एक हजार टन फोहोर सिसडोलमा लैजाने गरेको छ । निजी क्षेत्रका दुई सय कन्टेनर र महानगरपालिकाको २० कन्टेनर फोहोरसहित सिसडोल पुग्ने गरेको छ ।

प्रमुख राईका अनुसार सातामा चार दिन रात्रिकालीन अनुगमन र अन्य दिन माइकिङ गरेर सार्वजनिक स्थालमा फोहोर नफाल्न चेतनामूूलक सन्देश प्रवाह गर्ने भएको छ । महानगरपालिकाको नगर रक्षक, जनपथ प्रहरी र फोहोरमैला व्यवस्थापनसँग सरोकार राख्ने स्थानीय युवा क्लब यसमा सहभागी हुँदैछन् ।

मैतीदेवीमा सोमबार बिहान फोहोर फाल्नेलाई कुटपिट भएपछि उग्र भएको समूहले फोहोरको डुङ्गुर सडकमै हुत्याएका थिए । प्रहरी प्रभाग मालीगाउँले कुटपिटको घटना प्रहरी कार्यालयमा नआएको जानकारी दिएको छ, बिहान केही समय मैतीदेवी क्षेत्र सामान्य तनावमा रह्यो ।

स्थानीयवासीका अनुसार क्यान्टिन भएका कलेज, छात्रावास र होटलबाट नियतवश स्थानीयको दैलोमा फोहोरको डुङ्गुर नै थुपार्ने र यो खाले फोहोर व्यवस्थापन गर्ने निकायसमेतले नलैजाने गरेकाले एक सातादेखि मैतीदेवी क्षेत्र फोहोरमय भएको थियो। फोहोर फाल्नेलाई कुटपिट भएको र भागदौडसमेत मच्चिएको एक स्थानीयवासीले बताए । यसरी फोहोर फाल्नेउपर महानगरपालिकाले जरिवाना गर्न सक्ने तर सजाय प्रभावकारी नभएको भन्ने जनगुनासो छ । प्रमुख राईका अनुसार यो आर्थिक वर्षको सुरुमै सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जडित सीसीटीभीबाट पहिचान गरेर कारबाही गर्दा पाँच लाख रुपियाँ जरिवाना महानगरपालिकालाई राजस्व प्राप्त भएको छ ।

-गोरखापत्र