नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो । 

जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको नेपाल अब विश्वकप छनोटबाट दुई खेल मात्र टाढा छ । नेपालको यो एकदिवसीयमा सर्वाधिक ठूलो रनको कीर्तिमानी जित हो । युएईको भने एकदिवसीयमा इतिहासकै कम योगफल हो । नेपाललाई विश्वकपमा छनोट हुन अब लिग–२ को अन्तिम तथा पपुवा न्युगिनी (पीएनजी) र युएईविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा तेस्रो खेल सोमबार पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । 

जितका लागि दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा सबै विकेटको क्षतिमा ७१ रनमा समेटिएको थियो । युएईका लागि आयान अफ्जल खानले २९ रन बनाउनुभयो । आस्वान्त भाल्टथापाले १४ र कार्तिक मेईयापानले ११ रन बनाउनुभयो । 

बलिङमा नेपालका ललित राजवंशीले पाँच विकेट लिनुभयो । सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले सय १२ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । 

यस्तै आरिफ शेखले ४३, दीपेन्द्र सिंह ऐरीले ३४, गुलशन झाले ३७ र भीम सार्कीले २९ रन बनाउनुभयो । बलिङमा युएईका आयन अफ्जल खान, जावर फरिद, रोहन मुस्ताफा र जोहोर खानले दुई दुई विकेट लिनुभयो ।

आर्यान लाक्रा र जुनेद सिद्धिकीले एक एक विकेट लिनुभयो । लिग–२ कै अन्तिम सिरिजको रूपमा रहेको यस प्रतियोगितामा विश्वकपमा पुग्न नेपाललाई सबै खेल महत्त्वपूर्ण रहेको छ । नेपाललाई विश्वकपमा स्थान बनाउन अब दुई खेल जित्नुपर्नेछ l